स्थानीय सरकारको चेपुवामा जिल्ला युवा समिति

 बैशाख २६, २०७६ बिहिबार ७:५३:४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– नेपाल सरकारको अंगका रुपमा स्थापना गरिएको जिल्ला युवा समिति स्थानीय सरकारको चेपुवामा पर्दा कार्यालय समेत पाउन सकेको छैन । जिल्ला समन्वय समितिले कार्यालय नदिने र सिद्धिचरण नगरपालिकाले युवा लक्षति कार्यक्रम सञ्चालन गर्दा जानकारी नै नदिँदा समिति चेपुवामा परेको हो । 

युवा समितिका सबै कार्यक्रम स्थानीय तह अन्र्तगत गए पनि स्थानीय सरकारले युवा समितिलाई कार्यालयका रुपमा स्वीकार गरेका छैनन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद् मातहत रहेको सरकारी निकायलाई जिल्ला समन्वय समितिले कार्यालय राख्न नदिएपछि समितिका कागजपत्र र भौतिक सामग्री थन्क्याउने ठाउँ समेत पाउन सकेको छैन । 

उप सचिव कार्यालय प्रमुख रहने समितिका पदाधिकारी राजनीतिक नियुक्तिबाट चयन भएका छन् । यस अघि छुट्टै कार्यालय स्थपना गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको यो समिति चालु आर्थिक वर्षबाट जिल्ला समन्वय समिति अन्र्तगत राखेर कार्यालय सञ्चालन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र गरे पनि कार्यान्वयन भएको छैन । 

मन्त्रालयले चलानी नम्बर ३०, ०७५ असार ३ गते जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै स्थान उपलब्ध गराउन, युवा सम्बन्धी नीति बनाउन सहजीकण गर्न गरेको परिपत्र जिल्ला समन्वय समितिले नमान्ने जनाएको जिल्ला युवा समितिका अध्यक्ष सुधीर कार्कीले बताउनुभयो ।  उहाँले भन्नुभयो ‘कार्यालय सञ्चालन खर्च र बजेट कटौति भएपछि जिल्ला समन्वय समितिमा कार्यालय राख्न मन्त्रालयले भने पनि  पनि समितिले नदिएपछि समस्या भएको छ ।’ 

सरकारको एउटा निकायलाई स्थानीय तहले स्वीकार नगरेको भन्दै समितिका अध्यक्ष कार्कीले आक्रोश पोख्नुभयो । ‘युवा समितिका सामग्री जिल्ला समन्वय समितिलाई अभिलेख बुझाएर एउटा कोठामा थन्क्याए पनि ठाउँ नभएको भन्दै सामग्री कोठा बाहिर फलिएको छ, समन्वय समितिले सामग्री राख्ने ठाउँ समेत दिएन’ उहाँले भन्नुभयो ।

युवा समितिका विभिन्न कागजात जिल्ला समन्वय परिसरमा छरपष्ट पारिएको छ । यसबारे जिल्ला समन्वय अधिकारी नारायण मैनालीले कार्यकारी अधिकार रहेका जनप्रतिनिधिहरुले सामग्री हटाउन भनेपछि पानीमा नसड्ने खाले सामग्री बाहिर राखिएको दाबी गर्नुभयो । मैनालीले भन्नुभयोे, ‘क्वार्टरलाई ठाउँ चाहिने भएकाले खाली गरिदिन भनेकाले त्यसो गरिएको हो, ठाउँ मिलाउन लगाएर भित्रै राख्ने प्रयास गर्छु ।’ उहाँले युवा समिति सरकारी निकाय भएकाले आपसी समन्वय गर्नु पर्ने भए पनि नभएको स्वीकार गर्नुभयो । मैनालीले टेबल तथा केही कुर्सी मात्रै बाहिर राखिएको भने पनि कागजपत्र समेत पानीमा भिजेर सड्न थालेका छन् । 

जिल्ला समन्वय समितिले मात्र होइन सिद्धिचरण नगरपालिकाले पनि युवा समितिलाई बाइपास गरेको छ । युवा परिषद्का अध्यक्ष माधवप्रसाद ढुंगेलले ०७६ वैशाख ३ गते गरेको पत्राचारलाई बेवास्ता गर्दै युवा समितिका सरोकारका कार्यक्रम एकलौटी सञ्चालन गरेको छ । ढुंगेलले उद्यमशीलता विकास कार्यक्रम युवा क्लव गठन, युवा संसद स्थापना र अभ्यासजस्ता कार्यक्रममा जिल्ला समतिलाई समन्वय गर्न पत्राचार गर्नुभएको थियो ।  

नगरपालिकाले भर्खरै सञ्चालन गरेको युवा संसद स्थापना र अभ्यासमा जिल्ला युवा समितिलाई जानकारी समेत गराइएको छैन । ‘केन्द्रबाट परिपत्र आए पनि कार्यक्रमबारे जानकारी नै नदिइ सम्पन्न भएको सुनियो’ समिति अध्यक्ष कार्कीले भन्नुभयो– ‘जनप्रतिनिधि मूलक संस्थाहरुले युवा समितिलाई वाइपास गर्नु दुखःद विषय हो ।’ उक्त कार्यक्रममा केन्द्रीयस्तरको प्रशिक्षक, अधिवक्ताबाट सहजीकरण गराउन भनिए पनि नगरपालिकाका कर्मचारीले नै संसदीय अभ्यास सिकाएका छन् । 

युवा समितिलाई समन्वय नगरेको विषयमा नगरपालिकाका कार्यक्रम अधिकृत उमेश कार्कीले नगरपालिका अन्र्तगत रहेको कायक्रम भएकाले नगरपालिकाबाटै सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाको निर्देशन अनुसार आफूले सहजीकरण गर्न सहयोग गरेको उहाँको भनाइ छ ।  

युवा समिति मूख्य सरोकारवाला भए पनि कार्यक्रम थाहै नदिइ सञ्चालन गरिएको कार्यक्रम समापनमा प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङले भने जिल्लामा नगरपालिकाले मात्रै सबैसँग समन्वय गर्ने गरेको बताउनुभयो । अन्य स्थानीय तह, संघ र प्रदेशका सांसद, उद्योग बाणिज्य संघ, पत्रकार कसैले आफूसँग समन्वय गर्न नआएकाले त्यसै नछोड्ने भन्दै धम्कीपूर्ण भाषामा गाली समेत गरेका थिए । त्यही कार्यक्रममा युवा समितिलाई बाइसपास गरेको विषयमा भने उहाँ एक शब्द पनि बोल्नुभएन ।

जनप्रतिनिधिबाटै सरकारी कार्यालयलाई बासपास गरेर अघि बढ्नु राम्रो नभएको सरोकारवालाको भनाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया