जथाभावी भर्ना शुल्क उठाउँदै बझाङका सामुदायिक विद्यालय

 बैशाख २६, २०७६ बिहिबार ८:४७:१५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङका सामुदायिक विद्यालयहरुले विभिन्न वाहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेका छन् ।

पटक–पटक जिल्लाका सामुदायिक विद्यालयहरुले चर्को शुल्क लिने गरेको अभिभावकबाट जनगुनासो आए पनि यस्ता विद्यालयहरुलाई कारबाही हुन सकेको छैन । यस वर्षको शैक्षिक शत्र सुरु भएसँगै यहाँका विद्यालयहरुले विविध समस्या देखाउँदै विद्यार्थीबाट गैर कानुनी ढंगले भर्ना शुल्क असुल्ने गरेको पाइएको छ । 

कक्षा १ देखि १२ सम्म नेपाल सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले अहिले कक्षा ६ देखि १० सम्म भर्ना शुल्क, परीक्षा शुल्क, गयल शुल्क, खेलकुद शुल्क, जस्ता वाहानामा चर्को रकम असुल्दै आइरहेका छन् ।

तल्कोट गाँउपालिका– १ सुनिकोट घर भएका मिलन ऐडी स्थानीय सुनिकोट माविमा कक्षा ७ मा पढ्नुहुन्छ । उहाँले आफ्नो भाई अशोक ऐडीलाई त्यही विद्यालयमा भर्ना गर्दा ३४० रुपैयाँ शुल्क लिएको गुनासो गर्नुभयो । उहाँ जस्तै सुनिकोटका अन्य अभिभावकहरुले पनि आफ्ना बालबालिकाको भर्ना गर्दा रकम तिर्नु परेको बताए ।

सुनिकोट जस्तै जिल्लाकै नमूना मानिएको सदरमुकाम चैनपुर नजिकै रहेको सत्यवादी मावि भोपुरले समेत भर्ना शुल्क लिएको अभिभावकहरुले गुनासो गरेका छन् । सत्यवादी माविमा कक्षा ७ मा २ छोरीको भर्ना गर्दा ९५० रुपैयाँ र कक्षा १० मा पढ्ने छोराको भर्ना शुल्क ५५० तिरेको जयपृथ्वी नगरपालिका वडा नम्बर–११ की महिला सदस्य पद्मादेवी सार्कीले बताउनुभयो । पैसा नदिएसम्म शिक्षकहरुले छोरा छोरीको भर्ना नै नगरेपछि बाध्य भएर भर्ना शुल्क तिर्नु परेको उहाँले बताउनुभयो ।

सत्यवादी मावि भोपुरका प्रधानाध्यापक रामदत्त उपाध्यायले विद्यालयको शैक्षिक सुधारका लागि केही शिक्षकहरु निजी स्रोतबाट राखेको हुँदा विद्यार्थीबाट सहयोग स्वरुप भर्ना रमक लिएको बताउनुभयो ।

सत्यवादीमा कक्षा ७ मा भर्ना भएकी विमला बादीले पनि ४५० भर्ना शुल्क तिरेको बताउनुभयो । ‘घरको आर्थिक अवस्था कमजोर छ, अरुले नै सहयोग गरेर कापी कलम किन्न दिएको पैसा भर्ना शुल्क तिर्नुपरेको छ’ कक्षा ७ मा अध्ययनरत प्रमिला बादीले भन्नुभयो ।  

यस्तै जालपा माध्यमिक विद्यालयले पनि भर्ना शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका रमेश धामीले बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिमा कुनै सल्लाह अथवा जानकारी नै नगराई शिक्षकहरुले मनोमानी भर्ना शुल्क लिने गरेको बताउनुभयो । 

यो विद्यालयले कक्षा ६, ७ र ८ को ३००, कक्षा ९ को ३२५ र कक्षा १० मा भर्ना हुने विद्यार्थीबाट ३५० रुपैयाँ भर्ना शुल्क लिइरहेको छ ।

जयपृथ्वी नगरपालिका शिक्षा संयोजक तथा श्रोतव्यक्ति खगेन्द्रप्रसाद जोशीले बझाङका सामुदायिक विद्यालयहरुले निमय विपरीत शुल्क असुल्ने गरेको स्वीकार गर्दै धेरै जस्तो विद्यालयहरुमा निजी क्षेत्रबाट नै शिक्षकका् व्यवस्था गरेकोले उनीहरुलाई तलब खुवाउन भर्ना शुल्क लिने गरेको बताउनुभयो । 

यस विषयमा प्रमख जिल्ला अधिाकरी सुरेश सुनारले जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयहरुले भर्ना शुल्क लिएको जानकारी आएकोले जिल्ला शिक्षा समन्वय इकाईसँग बुझेर भर्ना शुल्क लिएको फेला परे नियम अनुसार कारवाही गर्ने बताउनुभयो ।  

भर्ना शुल्क नलिन विद्यालयलाई प्रजिअको निर्देशन 

शैक्षिक शत्रको सुरुमा जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थीबाट सहयोग स्वरुप भन्दै बिना रसिद भर्ना शुल्क लिएको ब्यापक जनगुनासो आएपछि बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यस्तो कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ । 

गएको शुक्रबार प्रमुख जिल्ला अधिकारी आफैँ सदरमुकाम नजिकै रहेको सत्यवादी माविमा गएर भर्ना शुल्क नलिन शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया