परम्पराका नाउँमा सामाजिक बहिष्कार गरिएपछि परिवारै विस्थापित

 बैशाख २६, २०७६ बिहिबार १९:५२:३६ | जयनारायण यादव
unn.prixa.net

काठमाण्डाै - बाराको एक घर परिवारले हालै गाउँ छोडेर विस्थापित हुनु परेको छ ।

बाराको सुवर्ण गाउँपालिका–६ धरमपुर टोलका अवधेश यादवको घरपरिवार गाउँलेहरुको सामाजिक बहिष्कारका कारण गाउँ छोडेर विस्थापित हुनु परेको हो। धरमपुर बाराको सदरमुकाम कलैयाबाट करिब ७-८ किलोमिटर पूर्वमा पर्दछ । आफ्नो बुवाको काजकिरिया सामाजिक परम्परा र धार्मिक रीतिरिवाज अनुसार नगरेको भन्दै गाउँका अगुवा भनिएकाहरुले आफ्नो घरपबरिवारलाई सामाजिक बहिष्कार गरेको धरमपुरका अवधेश यादवले बताउनु भयो।

आफ्नो बुवा अनुठा यादवको गएको  वैशाख १५ गते कलैया अस्पतालमा उपचारको क्रममा निधन भएपछि आफ्नो घरपरिवारले अपनाएको कविरापन्थी धरम अनुसार सात दिनमा काजकिरिया सिद्याएपछि गाउँका अगुवा, स्थानीय नेता विभिन्न ११ जना व्यक्तिहरुले आफ्नो घरपरिवारलाई सामाजिक बहिष्कार गरेर गाउँबाट विस्थापित गराएको मृतक यादवका छोरा अवधेश यादवले दुखेसो पोख्नुभयो।

स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुँसी यादव, बैद्यनाथ गिरी,श्री निवास बरै, रामअश्रे राउत, रामाधार राउत सहितका गाउँका अगुवा भनिएकाहरुले गाउँमा सबैलाई भेला गराएर यादव परिवारलाई बहिष्कार गर्न उर्दी जारी गरेको स्थानीय विश्राम प्रसाद यादवले बताउनु भयो।

यादव परिवारसँग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा तीस हजार रुपैयाँ जरिबाना गर्ने निर्णय अगुवाहरुले गरेको स्थानीय ५५ वर्षीय दुर्गा यादवले जानकारी गराउनु भयो। त्यही डरले गाउँका कोही पनि यादवको घरखेतमा जाने र अन्य व्यवहार नगरेको स्थानीय मुनिलाल यादवले बताउनु भयो।

बाहिरका कामदार बोलाउँदा समेत स्थानीय व्यक्तिहरुले काम गर्न नदिएर गाउँमा बस्नै नदिने अवस्था उत्पन्न गरेको पीडित पप्पु यादवले बताउनु भयो। गाउँका अगुवाहरुको बहिष्कारका कारण यादवको घरमा पक्की घरमा ताल्चा लागेको छ भने चामल मिल समेत बन्द रहेको छ।

सामाजिक बहिष्कारका कारण यादव, उनका भाइ, आमासहित नौजना सदस्य गाउँबाट विस्थापित छन्। सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले गाउँका मानिसहरुले सामाजिक बहिष्कार गर्नु गलत भएको बताउँदै आफू घटनाबारे गम्भीर रुपमा लाग्ने बताउनु भयो।

निर्वाचन क्षेत्र नम्बर-२ का सांसद रामसहाय यादवले धर्मको नाममा सामाजिक बहिष्कार गर्नु कानुनको उल्लंघन भएको बताउँदै त्यसमा संलग्नलाई कार्बाही गर्न स्थानीय प्रशासनसँग आग्रह गर्नु भयो।

जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले स्थानीय गाउँपालिका र वडाले घटनालाई बुझेर मिलाउनुपर्ने बताउनु भयो।

अन्तिम अपडेट: चैत ९, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया