मकै उत्पादन बढाउन नेपालकै हाइब्रिड बीउको विकल्प नभएकाे विज्ञहरुकाे भनाइ

 बैशाख २७, २०७६ शुक्रबार १६:७:४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले नेपालले विकास गरेको हाइब्रिड जातको मकैमा जोड गर्न किसानलाई आग्रह गरेको छ ।

नेपालमा विकास भएका हाइब्रिड मकैको उत्पादन प्रतिहेक्टर सातदेखि नौ मेट्रिक टनसम्म रहेको बताइएङ्काे छ । नेपालको भौगोलिक हावापानी सुहाउँदो हाइब्रिड जातको मकैकाे बीउ नेपालमै विकास भइसकेकोले मकैको उत्पादन बढाउन अब यसैलाई प्रथामिकतामा राख्नुपर्ने देखिएको छ । नेपालको मकै उत्पादन प्रतिहेक्टर २ दशमलव ५ मेट्रिक टन छ । नेपालले विकास गरेको हाइब्रिड जातको मकैको उत्पादन ७ देखि ९ मेट्रिक टनसम्म छ ।

नेपालमा ९ लाख हेक्टरमा मकै लगाइन्छ । तराईका जिल्लाहरुमा ७५ हजार हेक्टरमा मात्र हाइब्रिड जातको मकै लगाइने गरिएको तथ्यांक रहेको छ । धेरै लामो अनुसान्धान पछि थोरै जमिनमा बढी उत्पादन लिन सकिने, भुगोल अनुसार सुहाउँदो हाइब्रिड मकैको नयाँ जातको विकास गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका संयोजक केशबबाबु कोइरालाले बताउनुभयो । नेपालको तराई, भित्री मधेस र पहाडी क्षेत्रहरुमा फल्ने सातवटा हाइब्रिड मकैका जातको विकास गरिसकेको उहाँले बताउनुभयो । 

नेपालमा आफैँले विकास गरेका हाइब्रिड जात मकैको उत्पादन राम्रो देखिएको बताउँदै संयोजक कोइरालाले हाइब्रिड जातको बीउ विकास भएसँगै कृषकको माग अनुसारको बीउ उत्पादन गर्नका लागि निजी कम्पनी र सहकारीले सक्रियता देखाउनुपर्ने बताउनुभयो । नेपालले सातवटा हाइब्रिड मकैको नयाँ जातको विकास गरीसकेको जानकारी दिदै उहाँले  यही वर्ष दुईवटा थप मकैको जातको विकास गर्ने तयारीमा रहेको बताउनुभएको छ । 

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले गौरव, रामपुर हाइब्रिड २, रामपुर हाइब्रिड ४, ६, ८ र १० जातको हाइब्रिड मकैको विकास गरेको बताउदै संयोजक कोइरालाले पहाड र तराई दुवै क्षेत्रमा उपयुक्त हुनेगरी खुमल हाइब्रिड २ मकैको जातको विकास गरिएको जानकारी दिनुभयो । थोरै जमिनमा धेरै उत्पादन लिन सकिने, नेपलमा  विकास भएका हाइब्रिड मकैको उत्पादन राम्रो छ, दाना ठूला हुने भएकाले नेपाली हाइब्रिड प्रयोग गर्न उहाँको सुझाव छ । 

नेपाल सरकारले बहुराष्ट्रिय कम्पनीका ५३ वटा हाइब्रिड मकैका जातलाई सूचीकृत गरेको छ ।  रामपुरमा बहुराष्ट्रिय कम्पनीका ४८ वटा हाइब्रिड मकैको जातको अनुसन्धान भइरहेको छ । सम्पूर्ण हाइब्रिड जातको बीउ विदेशी बहुर्राष्ट्रिय कम्पनीले नेपालमा बिक्री गर्दै आएका अवस्था छ । 

नेपालमा सूचिकृत नभएका विदेशी हाइब्रिड जातको मकै लगाउदा समस्या आउन सक्ने बताउदै संयोजक कोइरालाले कृषकले सूचिकृृत नभएको बीउ प्रयोग गर्दा उत्पादन नभएकाले सरकारले २२ करोड सम्मको राहत बाड्नु परेको बताउनुभयो । बजारमा आएका बहुराष्ट्रिय कम्पनीका हाइब्रिड जातका मकैका बीउ भन्दा नेपालमै विकास भएको हाइब्रिड जातको मकै लगाउन कृषकलाई प्रोत्साहन गर्नुपर्ने उहाँको धारणा छ । 

सरकारले हाइब्रिड जातको विकास का लागि अध्ययन अनुसन्धान गर्न लगानी वृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन, किसानलाई नेपाली हाइब्रिड जातको मकैको बीउ प्रयोग गर्न प्रोत्साहन, आवश्यक परे अनुदानको व्यवस्था गर्ने कार्यक्रम ल्याउन सके ५ बर्ष भित्र बीउमा नेपाल आत्मनिर्भर हुन सक्ने उहाँले बताउनुभयो । हाइब्रिड जातको बीउ उत्पादन गर्न कठिन हुने भएकाले निजी क्षेत्र र सहकारीलाई प्रोत्साहन गर्नुपर्ने कोइरालाको धारणा छ । 

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, परवानीपुर, नेपालगन्जलगायतका क्षेत्रमा हाइब्रिड मकैको जातको विकासका लागि अनुसन्धान गरिरहेको छ । धनगढी रुपन्देही थानकोट र झापामा निजी क्षेत्रले पनि बीउ उत्पादन गरिरहेका छन् । मकवानपुर, रजहर, माडीमा किसानकै बारीमा बीउ परीक्षण गरी किसानलाई हस्तान्तरण गर्ने गरी मकैको बाह्य अनुसन्धान पनि भइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया