श्रम मन्त्रालयले भन्यो, ‘मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण पुरानै मेडिकलबाट हुने कुरा अनर्गल प्रचार मात्रै’

 बैशाख २७, २०७६ शुक्रबार १६:३७:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघि नै परीक्षण गर्दै आएका ३७ वटा स्वास्थ्य संस्थाबाट हुने भनेर आएका खबरको खण्डन गरेको छ । 

केही सञ्चारमाध्यमले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघि सरकारले खारेज गरेका ३७ वटा मेडिकलबाटै हुने भन्दै खबर प्रकाशित गरेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर यसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारका लागि मलेसिया जाँदा स्वास्थ्य परीक्षण गर्नका निम्ति मलेसिया सरकारसँग श्रम समझदारी हुनु अगावै छनौट भएका सीमित स्वास्थ्य संस्थाहरुबाट मात्रै यस्तो स्वास्थ्य जाँच हुनसक्ने, नयाँ स्वास्थ्य संस्थाहरुको सूचिकरण हुन नसक्ने भनी विभिन्न स्रोतहरुलाई उल्लेख गर्दै समाचारहरु प्रकाशित भएकोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले नेपाल सरकार र मलेसिया सरकारबीच गएको कार्तिक १२ गते भएको श्रम समझदारी अनुसार नै कामदारको स्वास्थ्य परीक्षण हुने पनि स्पष्ट पारेको छ । समझदारीमा स्वास्थ्य परीक्षण र यसको मापदण्ड मलेसिया सरकारले नै तोक्ने व्यवस्था रहेको भन्दै मन्त्रालयले यसै अनुसार स्वास्थ्य संस्थाहरुलाई सूचीकृत हुन आह्वान गरिएको जनाएको छ । 

निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन भइरहेको भन्दै मन्त्रालयले यसैबीचमा यसअघि नै परीक्षण गर्दै आएका ३७ वटा मेडिकल संस्थाबाट हुने भन्दै आएका कुरा अनर्गल प्रचार भएको भन्दै भ्रममा नपर्न भनेको छ ।

‘मलेसिया सरकारसँग भएको सम्झौता बमोजिम स्वास्थ्य जाँच गर्ने संस्थाहरुको छनौट प्रकृया नटुंगीसकेका वर्तमान अवस्थामा यस विषयलाई लिएर भएका अनर्गल प्रचारप्रसारबाट भ्रममा नपर्नुहुन मन्त्रालय सम्पूर्ण नागरिक, सरोकारवाला संघ संस्था तथा सञ्चारकर्मीहरुमा हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । 

मलेसियाली दूतावासले पुरानै ३७ वटा मेडिकल संस्थाबाटै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई लेखेकाे पत्र बाहिरिएकाे थियाे । 

गएको अप्रिल ८ तारिख नेपालमा रहेको मलेसियन दूतावासले नेपाल स्वास्थ्य व्यवसायी महासंघलाई पठाएको पत्रका विषयमा भने मन्त्रालयले निकालेको विज्ञप्तिमा केही भनिएको छैन । 

मन्त्रालयले विज्ञप्तिमार्फत वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउने सन्दर्भमा विभिन्न मुलुकहरुसंग भएका द्विपक्षीय श्रम समझदारीरसम्झौताको पूर्ण पालनामा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पूर्णतः कटिबद्ध रहेको भनेको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया