राष्ट्रपति र प्रधानमन्त्री हिँड्दा बाटो नछेक, प्रतिबन्ध ठीक छ !

 असार १८, २०७५ सोमबार १२:३६:४ | मिलन तिमिल्सिना
unn.prixa.net

सरकारले काठमाडौंको माइतीघरमण्डलासहित विभिन्न ठाउँमा प्रदर्शन गर्न रोक लगाएपछि सामाजिक सञ्जालका भित्ता यसको पक्ष र विपक्षका मतले भरिएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस, विवेकशील साझा पार्टी लगायतले सरकारको आलोचना गरेका छन् । विवेकशील साझा र डा. गोविन्द केसी समर्थकले त माइतीघरमण्डलामा लगाइएको निशेधाज्ञा तोड्ने भन्दै प्रदर्शन गरिसकेका छन् । 

एकथरीको मत छ – शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिक अधिकारमाथि हनन भयो । अर्काथरीको आशंका छ – ओली सरकार अधिनायकवादको बाटो हिँड्न थाल्यो । सरकारको पक्ष लिनेहरु अन्यौलमा छन्, सरकारको काम सही हो वा गलत ! सरकारले विरोध गर्ने र संगठित हुने अधिकारको हनन गरेको ठान्नेहरु सरकारको नियत बुझ्ने प्रयासमा छन् । 

सरकारको यो निर्णयपछि समाज अप्ठेरो अनुभव त गर्न थालेको छ, तर सबैले यसको बिरोध र आलोचना मात्रै गरेका छैनन् । विदेशतिर निश्चित ठाउँमा मात्रै धर्ना जुलुस र प्रदर्शन गर्न पाइने भएकाले नेपालमा पनि यस्तो व्यवस्था हुनु सही हो भन्नेहरु पनि छन् । पहिलेजस्तो जहाँ पनि विरोध प्रदर्शन गरेर देशमा आर्थिक समृद्धि हुँदैन भन्ने तर्क गर्नेहरु पनि छन् । 

सरकारले पनि अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको नभइ धर्ना र प्रदर्शनबाट हुने अस्तव्यस्त अवस्थालाई व्यवस्थित गर्न खोजेको मात्र हो भनेर प्रष्टीकरण दिएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भन्नुभएको छ – जसरी राष्ट्रपति र प्रधानमन्त्रीको सवारी भएको बेला सडक अवरुद्ध भयो भन्ने नागरिकको गुनासो छ, यसैगरी जथाभावी विरोध प्रदर्शन हुँदा पनि सडक अवरुद्ध हुने भएकाले नागरिककै हितका लागि नै सरकारले नयाँ निर्णय गरेको हो । खुलामञ्च लगायत तोकिएका निश्चित ठाउँमा विरोध प्रदर्शन गर्न पाइने भएकाले यसलाई अनावश्यक रुपमा अपव्यख्या नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

तर राष्ट्रपति र प्रधानमन्त्री सडकमा हिँड्दा नागरिकले दुःख पाउने क्रम रोकिएको छैन । काम विशेषले गाडीमा कतै जाँदा त्यही बाटोमा राष्ट्रपति र प्रधानमन्त्रीको सवारी छ भने घण्टौं जाममा बस्नुपर्छ । जाममा परेर बेलैमा गन्तव्यमा पुग्न नपाउँदा कतिको परीक्षा छुटेको छ, कतिको काम रोकिएको छ । राजाको पालादेखि खेप्दै आएको यस्तो भुक्तमान अन्त्य गर्न नागरिकले बारम्बार आग्रह गर्दै आएका छन् । तर सम्बन्धित निकायले वास्ता गरेका छैनन् ।

सुरक्षाका कारण राष्ट्रपति र प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको सवारीमा केहीबेर गाडी रोक्नु बाध्यता भएको प्रहरी बताउँछ । तर विशिष्ट व्यक्तिलाई सुरक्षा दिने निहुँमा गाडी रोकिँदा नागरिकले कति पीडा र छटपटी भोग्नुपर्छ भन्ने हरहिसाब प्रहरीले त गरेन, गरेन । राष्ट्रपति र सरकारका मन्त्रीले पनि गरेको पाईएन । उनीहरुलाई नागरिकको चिन्ता हुन्थ्यो भने राजकीय तामझाम कम गर्ने अनेक विकल्प थिए र अहिले पनि छन् । 

माइतीघरमा प्रदर्शन गर्न नदिएजस्तै राष्ट्रपति र प्रधानमन्त्रीको सवारीमा पनि गाडी नरोक्ने हो भने नागरिकलाई राहत मिल्छ । विशिष्ट व्यक्तिको सवारीका कारण नागरिकले दुःख पाएका छन् भन्ने बुझेरै माइतीघरमण्डला लगायतका महत्वपूर्ण ठाउँमा विरोध प्रदर्शन गर्न रोक लगाइएको हो भने यसलाई समर्थन गर्नेहरुको संख्या बढ्छ । तर माइतीघरमण्डलामा अहिलेदेखि नै प्रदर्शन गर्न रोक लगाउने सरकारले राष्ट्रपति र प्रधानमन्त्री सडकमा हिँड्दा अहिलेदेखि नै सडक सबैका लागि खुला गर्न सकेको खै ?

विरोध गर्ने र आलोचना गर्ने ठाउँ कति धेरै !

सरकारले धर्ना जुलुस तथा प्रदर्शनको लागि निश्चित ठाउँ तोकेको छ । काठमाडौंमा खुलामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर, भुइँखेल चौर, भगवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषदअगाडिको खुल्ला स्थान र सिफल चौर गौशालामा प्रदर्शन गर्न पाइने व्यवस्था सरकारले गरेको छ ।

यस्तै भक्तपुरको एक ठाउँमा मात्रै प्रदर्शन गर्न पाइन्छ । भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा मात्रै प्रदर्शन गर्न पाइने नियम बनाइएको छ ।ललितपुरमा च्यासलको खेल मैदान, गोदाबारी बसपार्क नजिकैको खाली ठाउँ, भैंसेपाटी छयासीकोटको खुला ठाउँ, बज्रबाराही मन्दिर गेट नजिकको खुला ठाउँ, लुभु चौर लामाटार र धोबीघाट नजिकै मलपोखरीको खुला ठाउँमा मात्रै प्रदर्शन गर्न पाईनेछ ।

सरकारले तोकेका यी ठाउँ हेर्दा कुनै पनि ठाउँ विरोध प्रदर्शनका लागि उपयुक्त छैनन् । सबैभन्दा उपयुक्त देखिएको खुलामञ्च हो, जहाँ बसपार्क बनाइएको छ ।बस पार्किङ गरेर बाँकी रहेको थोरै ठाउँमा हिलो र झारले मान्छे हिँड्न मिल्दैन । केही वर्षदेखि खुलामञ्चमा कार्यक्रम नै हुन छाडेको छ । खुलामञ्च बाहेक सरकारले तोकेको अरु ठाउँमा विरोध प्रदर्शन गर्नु र घरको आँगनमा उफ्रनु उस्तै हो । किनकी ती ठाउँमा गएर बोलेको र विरोध गरेको वरपरका मान्छेले बाहेक अरु कसैले सुन्दैनन् ।

सरकारलाई सुनाउनेगरी विरोध प्रदर्शन गर्न मिल्ने उपयुक्त ठाउँ सिंहदरबार छेउको माइतीघरमण्डला मात्रै हो । सरकारले सुन्ने ठाउँमै विरोध गर्न नपाउने भएपछि धेरैले सरकारको आलोचना गरेका हुन् । 

तर यस्तो विरोध गर्नेमा प्रमुख प्रतिपक्षी कांग्रेस र विवेकशील साझा पार्टी अगाडि छन् । जबकि सरकारलाई केही भन्नुछ भने कांग्रेसका लागि सडकमा होइन, सदनभित्रकै ठाउँ पर्याप्त छ । सदनमा कुरा उठाउँदा पनि भएन भने मात्रै सडकमा पुग्नुपर्ने हो । विवेकशील साझा पार्टी त पहिलेदेखि नै सडक अवरुद्ध हुनेगरी गरिने धर्ना जुलुस र प्रदर्शनको बिरोधी हो । सरकारसँग चित्त नबुझेका कुरा भन्न उसलाई पनि सिंहदरबार र बालुवाटारको ढोका सधैंका लागि खुल्ला छ ।

साँच्चै राष्ट्रपति र प्रधानमन्त्री हिँड्दा सडक अवरुद्ध हुँदैन भने सडक अवरुद्ध हुनेगरी धर्ना जुलुस र प्रदर्शन रोक्ने सरकारी निर्णय ठीक छ । यसअघिका जनआन्दोलनमा जस्तै सडकमै ओर्लेर विरोध प्रदर्शन गर्नुपर्ने दिन आयो भने त सरकारको छेकबार र निशेधाज्ञाले केही गर्न सक्दैन । 

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया