सदरमुकाम सफा राख्न सामूहिक प्रयासः फोहोर भएको घरमा रातो झण्डा, सफा घरमा हरियो झण्डा

 बैशाख २८, २०७६ शनिबार १३:१७:२४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - चैनपुर सदरमुकामलाई स्वच्छ, सफा र व्यवस्थित शहरका रुपमा विकास गर्न सामूहिक प्रयासको सुरुवात भएको छ ।

सेती नदी र बाउली खोलाको बीचमा रहेको सुन्दर नगरी चैनपुरलाई नमुना शहरका रुपमा विकास गर्न जयपृथ्वी नगरपालिकाले थालेको कदममा सरोकारवाला निकाय र निजी क्षेत्रले पनि साथ दिएका छन् ।    

चैनपुरको योग पतञ्जली समूहले ‘स्वच्छ सफा चैनपुर हाम्रो अभियान’ भनेर विगत ६ महिनादेखि प्रत्येक शनिबार बजार सरसफाइ अभियान गर्दै आएको छ । यसका साथै जयपृथ्वी नगरपालिकाले पनि बजार सफा गर्न कर्मचारीसहित टिप्पर गाडीबाट दैनिक फोहोर उठाएर व्यवस्थापन गरिरहेको छ ।

‘यो सुन्दर चैनपुरलाई हामी सभ्य र भव्य शहरका रुपमा बनाउन लागिपरेका छौं । यसअन्तर्गत एक घर एक रुख रोप्ने, खोला र नदीको छेउछाउमा रिङ रोड बनाएर वृक्षारोपण गरी बजारलाई सुन्दर बनाउने योजना रहेका छन्’, जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भन्नुभयो ।

शनिबार पनि चैनपुर सरसफाई अभियान अन्तर्गत प्रमुख जिल्ला अधिकारी, समन्वय प्रमुख, नगर प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको टोलीले सामूहिक रुपमा सरसफाइ गरेको छ । टोलीले फोहोरलाई व्यवस्थापन गर्न माइकिङका साथै फोहोरलाई डस्टबिनमा राख्न सुझाव दिएका थिए । 

चैनपुरलाई स्वच्छ, सफा शहर बनाउन अभियान सुरु भ पछि यहाँको महालक्ष्मी विकास बैङ्क, डिभिजन वन कार्यालयले बजार क्षेत्रका विभिन्न ठाँउमा फोहोर राख्ने भाँडाहरु वितरण गरेको छ ।  सानो र सुन्दर चैनपुर बजारलाई स्वच्छ, सफा र सभ्य शहर बनाउन सकिने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । 

वरिपरि नदी र खोला भए पनि बजारभित्र खानेपानीको समस्या भएकाले साना शहरी विकासअन्तर्गत खानेपानी योजनाबाट प्रत्येक घरमा धारा व्यवस्थापन गर्ने नगरपालिकाले लक्ष्य राखेको छ । साथै चैनपुर बजारभित्र प्रत्येक टोल र बस्तीमा टोल सुधार समिति बनाएर टोल सफा, स्वच्छ राख्न सभ्य मर्यादित बनाउने, फोहोर भएको घरमा रातो झण्डा र नभएको घरमा हरियो झण्डा लगाउने योजना रहेको नगरपालिका उपप्रमुख जुना जाग्रीले बताउनुभयो । 

फोहोर व्यवस्थापन नगर्ने घरमा बिजुली, खानेपानी बन्द गर्नुका साथै नगरपालिकाबाट दिइने सेवा सुविधामा समेत रोक लागउने उपप्रमुख जाग्रीले जानकारी दिनुभयो । नगरलाई व्यवस्थित बनाउन  बजारको सडकमा सौर्यबत्ती जडान गर्ने, सिसि क्यामेरा जडान गर्ने, ढल व्यवस्थापन, गाडी पार्कीङ, खेल मैदानलगायतको काम नगरपालिकाले गर्ने भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Manish Kc

    May 11, 2019, 1:43 p.m.

    Chainpur is not city so called sahar. It's a bazzar. It's a small bazzar.

  •  0 Reply

तपाईको प्रतिक्रिया