परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई हेटौंडामा बाजागाजासहित रथयात्रा

 बैशाख २८, २०७६ शनिबार १५:५६:१३ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - मकवानपुरको हेटौंडामा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई शनिबार बाजागाजासहित नगर परिक्रमा गराइएको छ ।

पूर्व राजदूत तथा सांसदसमेत रहनुभएका श्रेष्ठलाई हेटौंडाको बुद्धचोकमा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले सम्मान गर्नुभएकाे थियाे। नेवाः सांस्कृतिक पुच मकवानपुरको आयोजनामा गरिएको विशेष कार्यक्रम श्रेष्ठलाई रथमा चढाएर हेटौंडा नगर परिक्रमा गराइएकाे हाे । श्रेष्ठ ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा सम्मान गरिएको हो । कार्यक्रममा सभामुख श्रेष्ठ, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ लगायत स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

श्रेष्ठले मकवानपुरसहित देशैभरी पुर्‍याउनुभएको योगदानको कदर गर्दै नेवा सांस्कृतिक पुच: मकवानपुरले सम्मान गरेको हो ।  

 नेवाः सांस्कृतिक पुच मकवानपुरको सल्लाहकार समेत रहनुभएका श्रेष्ठले विभिन्न विषयमा ३० वटा पुस्तक लेखिसक्नुभएको छ । धेरै भाषामा दक्खल राख्ने  श्रेष्ठ २ पटक सांसद समेत हुनुभएको छ ।

हेटौंडाको चौकिटोल निवासी हिरण्यलाल लामो समयदेखि काठमाण्डौमा बस्दै आउनुभएको छ । विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशन गर्दै आउनुभएका उहाँ परराष्ट्रविदका रुपमा परिचित हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया