'एमडीएमएस' खरिदमा भ्रष्टाचार : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्...
चैत १५, २०८० बिहिबार
मकवानपुर - प्रदेश नम्बर–३ को प्रदेश सभाको वर्षे अधिवेशन सोमबारबाट सुरु हुँदै छ । सोमबारबाट सुरु हुने अधिवेशन प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्नसक्ने आंकलन गर्दै प्रदेशसभा सचिवालयले मर्यादापालक थप गरेको छ ।
प्रदेश राजधानी र नामाकरणको विषयलाई जतिसक्दो छिटो टुंगो लगाउनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।
सोमबारकोे प्रदेश सभा बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयले प्रवेश नपाउने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । एक हप्तापछी मात्र राजधानीको विषयलाई प्रवेश गराउन सकिने उहाँले बताउनुभयो ।
यसअघि पनि हिउँदे अधिवेशनमा राजधानीको विषय टुग्याउने भनिए पनि बैठकमा त्यो विषयले प्रवेश नपाएपछी कांग्रेस सांसदहरु रुष्ट भएका थिए । वर्षे अधिवेशनमा पनि राजधानीको विषय टार्न षड्यन्त्र गरिएको भन्दै प्रतिपक्षी कांग्रेसले बैठकको सुरुमै त्यो विषयले प्रवेश पाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रदेश सभा गठन भएको एक बर्ष नाघिसक्दा समेत राजधानीको बिषयले प्रवेश नपाएको भन्दै कांग्रेसले यसअघि नै संसद अबरुद्ध गर्ने चेतावनी दिईसकेको छ । संसद अबरुद्ध गर्ने नगर्ने बिषयमा प्रदेश ३ का प्रतिपक्षदलका नेता इन्द्रबहादुर बानियाँले अहिले नै केही नभन्ने बताउनुभयो । तर कांग्रेसका सांसदहरु वर्षे अधिबेशनमा पनि राजधानीको विषयले सुरुमै प्रवेश नपाउने भएपछि थप रुष्ट भएका छन् ।
सत्तारुढ नेकपाका सांसदहरु प्रदेशको नामाकरण र राजधानीका बारेमा आपसमै एक हुन नसक्दा नामाकरण र राजधानीको विषयले बैठकमा प्रवेश पाउन नसकेको हो । केहीले हेटौँडा नै राजधानी हुनु पर्ने माग गर्दै आएका छन् भने केहीले भक्तपुर र धुलिखेल हुनुपर्ने अडान राख्दै आएका छन् । सत्तारुढ दलकै सांसदबीच सहमति नबन्दा नामाकरण र राजधानीको विषय धकेलिँदै गएको हो ।
हरेक अधिवेशनमा राजधानी र नामाकरणको विषय टुंग्याउने भनिए पनि अझैसम्म यो विषय टुंगो लाग्न सकेको छैन ।
सोमबार १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । वर्षे अधिवेशन सुरु हुनु अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न ८ वटा विषयलाई बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।