काठमाण्डौमै राति आठ बजेपछि बस पाउनै गाह्रो !

 बैशाख ३१, २०७६ मंगलबार १५:११:४७ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – राति १० बजे बस काठमाण्डौको नयाँ बसपार्क पुग्यो । धनगढीबाट आएका रनिस पन्तलाई चावहिलमा रहेको आफ्नो कोठासम्म पुग्न समस्या भयो । कुनै गाडी जान्छ कि भनेर यताउता हेरे, केही समय पर्खिबसे तर कुनै गाडी पनि  नचलेपछि उनले ट्याक्सी समाते ।

कोठासम्म पुगेको ट्याक्सी भाडा ८०० रुपैयाँ भयो । बाटोमा खाजा पनि नखाएर बचाएको रुपैयाँ ट्याक्सी भाडा तिरेर सकिँदा उनको मन खिन्न भयो । धनगढीबाट काठमाण्डौ १२ सय रुपैयाँमा आएका रनिसले काठमाण्डौको नयाँबसपार्कबाट चावहिलसम्म पुगेको ८०० रुपैया तिर्नुपर्यो ।

देशकै केन्द्रीय राजधानीमा ८ बजेपछि बस भेटाउनै गाह्रो हुन्छ भन्ने सुन्दा अचम्म लाग्ला । पर्वतका विनय खड्कालाई पनि लगनखेलको आफ्नो अफिसबाट कहिलेकाँही राति ८ बजे कोठा जानुपर्दा एउटै चिजको समस्या हुन्छ, गाडीको । त्यतीबेला उनलाई नयाँ बसपार्कसम्म जाने गाडी भेटाउनै धौ-धौ पर्छ । गोङ्गबु बस्ने विनय राति गाडी नभेटाएर कतिपटक त आफ्नो साथीको कोठामा बसेका छन् । साथी नभएको बेला महँगो भाडा तिरेर उनी ट्याक्सीमा पनि गएका छन् ।

यी त भए प्रतिनीधि घटना । रातिको समयमा सार्वजनिक बसहरु नपाउँदा रनिस र विनय जस्तै कयौंले दुख पाउने गरेका छन् । कतै लुटिनुपर्ने तथा कतै महँगो भाडा तिरेर ट्याक्सीमा जानुपर्दा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । 

किन चल्दैनन् काठमाण्डौमा रात्रिबस ?

काठमाण्डौमा रात्रिकालीन बस सञ्चालनको लागि पहल नै नभएको होइन । पटक-पटक पहल भएको छ र सञ्चालनमा पनि ल्याइएको छ । काठमाण्डौ महानगरपालिकाले दुईतीनपटक रात्रिकालीन बस सञ्चालनमा ल्याउने प्रयास गरे पनि लामो  समय टिक्न सकेनन् ।

सरकारले रात्रिकालीन बस सञ्चालनको लागि छुट्टै कायविधि नबनाएसम्म रात्रिकालीन बस सञ्चालन गर्न कठिन भएको नेपाल यातायात महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ । ‘दिनमा लाग्ने भाडा भन्दा रात्रीसमयको गाडी भाडादर बढाइनुपर्छ र सुरक्षाको व्यवस्था गरिनुपर्छ’, सिटौलाले भन्नुभयो, ‘रातिको समयमा बस सञ्चालनको लागि सरकारी तवरबाट सहयोग हुनैपर्छ । नत्र घाटा व्यहोरेर त कुनै पनि व्यवसायीले सेवा गर्दैन ।’

एकदमै न्यून भाडादरमा सरकारी तवरबाटै रात्रिकालीन बस सञ्चालन गर्नसके झनै राम्रो हुने पनि उहाँ बताउनुहुनछ ।

यस्तै, नेपालमा रात्रिकालीन बस सञ्चालन गर्न असम्भव नभए पनि सजिलो नभएको साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधर बताउनुहुन्छ । ‘हाम्रोमा पर्याप्त मात्रामा उद्योगहरु छैनन्, भएका जति प्राय सबै दिनमा सञ्चालन हुन्छन् । अब पर्याप्त यात्रु नै नभए बस चलाउनुको के औचित्य ।’ उहाँले भन्नुभयो, ‘निजी कम्पनीले घाटा व्यहोरेर चलाउदैनन् । सरकारले जनताको सेवामा खटिनुपर्छ भन्ने मनसाय राख्दैन ।’

बस व्यवसायीहरुलाई रात्रिकालीन सेवामा आकर्षित गर्न रात्रिकालीन व्यवसाय पनि सञ्चालनमा ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ ।

पुनः रात्रिकालिन बस चलाउने तयारीमा महानगर

वि.सं.२०७३ सालमा काठमाण्डौ महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर रात्रिकालीन बस सञ्चालनमा ल्याएको थियो । महानगरपालिकाको आर्थिक सहयोगमा बसहरु सञ्चालनमा आएका थिए । तर पाँच महिना पनि चलेनन् । महानगरपालिकाले गरेको आर्थिक सहयोग सकियो । त्यसपछि आफूहरुलाई घाटा हुन थालेपछि चलाउन नसकेको भन्दै साझा यातायातले राति बस चलाउनै छाड्यो ।

अहिले फेरि महानगरपालिकाको सेयरमा साझा यातायातले २० वटा नयाँ बसहरु काठमाण्डौमा ल्याइसकेको छ । अब केही प्रक्रिया पूरा गरेर ती बसहरु पनि चाँडै सञ्चालनमा ल्याउने महानगरपालिकाले जनाएको छ ।  महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अबको एक महिनाभित्रै बसहरु रात्रिकालिन रुपमा सञ्चालनमा आउनेछन् । 

‘भिजिट २०२०’ को लागि भए पनि रात्रिकालीन बसहरु सञ्चालनमा ल्याउने तयारीमा महानगरपालिका रहेको उहाँले बताउनुभयो ।

रात्रिकालीन भने पनि १० बजेसम्म मात्र

छिमेकी देश भारतको राजधानी दिल्ली कै कुरा गर्ने हो भने पनि त्यहाँ रातभरि बस चल्छन् । राति एक दुई बजे पनि बढीमा आधा घण्टाको अन्तरालमै बस स्टेशनमा आइपुग्छन् । 

तर काठमाण्डौमा रात्रिकालीन भनेर चलाइने बसहरु पनि राति १० बजेसम्म मात्रै चल्छन् । १२ बजे कसैलाई कतै जानुपर्यो भने उही ट्याक्सीको भर, अनि महंगो शुल्क ।

अब सञ्चालनमा आउने बसहरु पनि राति १० बजेसम्म चलाइने साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधर बताउनुहुन्छ । तर महानगरपालिकाले थप आर्थिक सहयोग गरे १२ बजेसम्म बस चलाउन सकिने उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा चल्ने सबै साना ठूला गाडीहरु दिनमा मात्र चल्छन् । प्राय सबैको समय बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नै हो । रात छिप्पिन थालेपछि सबै आ-आफ्नो ग्यारेजमा थन्किन्छन् । आठ बजेपछि त कतै जानुपर्दा बस भेटाउनै मुश्किल पर्छ ।

दिउँसोको बेला यात्रा गर्ने यात्रुहरुलाई त कुनै गाह्रो हुँदैन तर काम विशेष राति बाहिर निस्किनुपर्दा गाडीको समस्या हुने गरेको गुनासो बढ्दै गएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया