सिञ्जाका दुई ठाउँमा होमस्टे सञ्चालन गरिने

 जेठ १, २०७६ बुधबार १९:७:३४ | नेत्र शाही
unn.prixa.net

पर्यटन व्यवसाय प्रवर्द्धनका लागि प्रक्रिया सुरु गरिएको जुम्लाको बड्की गाउँ

जुम्ला – कर्णाली प्रदेश सरकारले पर्यटन व्यवसाय प्रवर्द्धनका लागि सिञ्जाका दुई स्थानमा होमस्टे सञ्चालन गर्ने भएको छ । 

नाग्म–गमगढी राजमार्ग (रारा सिञ्जा मार्ग) अन्तर्गत बड्की र कनकासुन्दरी गाँउपालिका–१, बोतामालिकामा पर्यटन व्यवसायका लागि कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालन प्रक्रिया अगाडि बढाएको हो । 

विशेषगरी रारा सिञ्जामा आउने पर्यटकहरुको सुविधायुक्त बसाइलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकार पर्यटन मन्त्रालयको सहयोगमा हामेस्टे कार्यक्रम सिञ्जाका दुई ठाउँमा सम्झौता भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय जु्म्लाका प्रमुख शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सिञ्जा क्षेत्रको हिमा गाउँपालिका बड्की र बोतामालिका गाउँमा २५ लाख रुपैयाँको दरले सम्झौता भएको छ । 

यसैगरी तातोपानी गाउँपालिकाको ऐरेनी र तातोपानीमा गरी चार ठाउँमा जुम्लामा होमस्टे सञ्चालनका लागि बजेट व्यवस्था भएको कार्यालयले जनाएको छ । 

राजमार्गमा होमस्टे सञ्चालनका लागि सुरुमा ९ सदस्यीय होमस्टे व्यवस्थापन समिति छनौट भइ प्रक्रिया अगाडि बढेको र नियमानुसार अन्य सदस्य पनि थप गर्न सकिने बड्की होमस्टे सञ्चालन समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो । हामेस्टे  सञ्चालन  गरिने विषयमा वन उद्योग तथा पर्यटन  मन्त्रालय सुर्खेतका सूचना अधिकारी शेरबहादुर रोकायासहितको टोली सिञ्जाको बड्की र मालिकाबोता पुगेर होमस्टे सञ्चालनको विधि र मापदण्डका विषयमा स्थानीयलाई सहजीकरण गरेर फिर्ता भएको छ ।

यसैगरी प्रदेश सरकार सुरुवात गरेको कार्यक्रम आवश्यक भएको भन्दै व्यवस्थापनमा राम्रो गरिनुपर्ने हिमा गाउँपालिकाका वडाध्यक्ष वीरबहादुर रैथाने परिकारहरु खुवाउने बताउनुभयो । रारा सिञ्जा आउने पर्यटकहरुका लागि उचित बसाइ, स्थानीय कोसेलीघर, खस सभ्यताको नाचघर, बाटोघाटो पानीका लागि पूर्वाधार तयार  गर्न सकिने कर्णाली प्रदेश सरकारले जनाएको छ । 

यसैगरी केही ठाउँमा पहुँचका आधारमा एकलौटी रुपमा समिति गठन भएको भन्दै विवाद भइरहेको र सहमति गर्ने प्रयास भैरहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ ।  जुम्लाका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले प्रस्ताव पेसका लागि प्रत्येक स्थानीय तहमा सूचना टाँसेको र जसले प्रस्ताव पेस गरे तिनै स्वीकृत भएका बताउनुभयो । यसैगरी कर्णाली प्रदेश सरकारले जुम्लाका ४ स्थानसहित करिब २५ स्थानमा होमस्टे सञ्चालनमा ल्याउने योजना रहेको छ ।  

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया