हप्तौँ बित्दा पनि निन्त्रणमा आएन डोटीका वनमा लागेको आगो

 जेठ २, २०७६ बिहिबार १२:२०:१२ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा हप्तौँदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यहाँका वनहरुमा आगलागीबाट सयौँ हेक्टर वन सखाप भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरि करिब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ । डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत शुरेसचन्द्र डिसीले दिनु भएको जानकारी अनुसार यहाँका सामुदायिक तर्फका कम्तिमा पनि ४५ र कबुलियती तर्फका २ तथा अन्य केही सरकारी वनमा ठूलो आगलागी भैरहेको छ ।

वनहरुमा लागेको आगो निभाउने प्रयास गरिपनि आगो नियन्त्रणमा आउन नसकेको सहायक वन अधिकृत डिसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो केही दिन यता पानी नपरेकाले पुरै जंङ्गल सुख्खा छ, आगो निभाउने भरपुर प्रयास भएपनि सकिएको छैन्, निभाउने प्रयास भईरहेको छ ।’ 

डोटीमा ३६६ सामुदायिक र १९६ कबुलियती वनहरु रहेका छन् । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जोरायल गाउँपालिका-१ काे रानीवन  सामुदायिक वनका धीरबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगोले साना बुट्यान र बिरुवाहरु सखाप पारेको छ, नयाँ बिरुवा उम्रन लामो समय पर्खिनुपर्ने अवस्था छ, गर्मीले गर्दा आगो नियन्त्रणमा आउन सकेको छैन ।’ 

आगलागीकै कारण यहाँका सल्ला जातका आला रुखहरु धमाधम ढल्न थालेका छन् भने करोडौँको नोक्सानी भएको जोरायल गाउँपालिका २ धारापानीका स्थानीय तिर्थराज भण्डारीले बताउनुभयो ।

आगलागीसम्बन्धी जनचेतना जगाउँदा जगाउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । यतिमात्र नभएर वनमा नयाँ घास उम्रने आशाले पनि कहि कतै स्थानियवासी तथा वन उपभोक्ताले नै वनमा आगो लगाउने गरेको स्थानियवासीहरु बताउँछन् ।

अधिका‌ंश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको शिखर नगरपालिका २ का स्थानीय शंङ्करबहादुर महराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ’हप्तौँदेखि यहाँका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ त्यसको धुँवा र कुहिरोले मानिसमा समेत असर गर्न थालेको छ ।’ 

यहाँका वनहरुमा बर्सेनि आगलागी हुने गरेको छ । वनमा कस्ले र किन आगो लगाउँछ त्यो विषयमा अहिलेसम्म कसैले पनि पत्ता लगाउन नसक्दा जिल्लामा बर्सेनि आगलागी हुँदै आएको केआईसिंह गाउँपालिकाका स्थानीय रामबहादुर लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वनमा पुरै आगलागी भएको मात्रै देखिन्छ कस्ले र किन आगो लगाउँछ भन्ने विषयमा अहिलेसम्म कसैलाई पनि जानकारी छैन ।’

वनमा जाने गोठाला तथा अन्य स्थानीयले खाएको चुरोटको ठुटाबाट आगलागी हुने गरेको कतिपयको बुझाइ छ । जिल्लामा बाक्लो तथा घना जंङ्गल भएका कारण एक ठाउँमा लागेको आगो सहजै अर्को ठाउँमा सर्ने गरेका कारण पनि यहाँका जंङ्गलहरु आगलागीमा परेर बर्साेनि सखाप हुँदै आएको रानीवन सामुदायिक वनका हरिलाल बिकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जंङ्गल बाक्लो छ, अग्नि नियन्त्रक रेखा खासै कसैले हालेको छैन, एक ठाउँमा आगो लागेपछि अन्यत्र पनि सहजै सर्ने गरेको छ ।’ 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया