विदेश पठाउँदा एजेण्टले आफ्नो बनाएको जग्गा १३ वर्षपछि फिर्ता

 जेठ ४, २०७५ शुक्रबार १५:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ४ – वैदेशिक रोजगारमा पठाउने भन्दै आफ्नो नाममा जग्गा पास गरेका एजेन्टले १३ वर्षपछि जग्गा फिर्ता गरेका छन् । विदेश जान भन्दै जग्गा पास गरेर दिएपनि जान नपाएका गैंडाकोट नगरपालिका ७ का मनवीर दर्जीका परिवारले २ कठ्ठा जग्गा १३ वर्षपछि फिर्ता भएको हो । 

२०६० सालमा वैदेशिक रोजगारीमा जाने भनेर ८५ हजारका लागि गैँडाकोट–५ दशरथ गिरीले मानवीरको घडेरी आफ्नी श्रीमतीको नाममा पास गरेका थिए । 

एजेण्टले यसरी आफ्नो बनाएका थिए जग्गा 

आर्थिक अवस्था कमजोर भएपछि नवलपरासीको गैंडाकोट–७ शक्तिटोलका मनवीर दर्जीलाई खान लाउन धौ धौ थियो । गाउँका सबै विदेश गएर पैसा कमाएर फर्किएको देखेपछि मनवीरलाई पनि विदेश जाने रहर जाग्यो । 

गैंडाकोट–५ जनक कलेज नजिकै बस्ने दशरथ गिरीले युवाहरुलाई विदेश पठाइरहन्थे । मनवीर पनि दशरथको सम्पर्कमा पुग्नुभयो । दशरथले कतार पठाइदिन्छु, कमाइ पनि राम्रो हुन्छ भनेर मनवीरलाई फकाए । पैसा टन्न कमाउने सपना बुन्दै घर फर्किएका मनवीरलाई बुवा लक्ष्मण दर्जीलगायतका घरका अरु सदस्यले पनि स्वीकृति दिए ।

घर परिवारबाट स्वीकृति पाएर के गर्नु उहाँसँग विदेश जाने पैसा भएन । गाउँमा पैसा दिने कोही भएनन् । अहिले जस्तो बचत गर्ने सहकारी संस्थाहरु पनि थिएनन् त्यतिबेला । दशरथले कतार जान ८५ हजार रुपैयाँ बुझाउनु भनेकाले मनवीरलाई पैसा कसरी जुटाउने भन्ने चिन्ता नै धेरै थियो ।

तर दशरथले पैसा आफै उपलब्ध गराइदिने तर त्यस बापत दुई कठ्ठा जग्गा आफ्नो नाममा पास गरिदिनुपर्ने सर्तसहितको उपाय सुझाए ।

दुई कठ्ठा जग्गा आफ्नो नाममा पास

गैंडाकोट–७ मा रहेको २ कठ्ठा १७ धुर जग्गा मध्ये दुई कठ्ठा जग्गा दशरथको नाममा पास गर्ने प्रस्ताव आएपछि मनवीरको परिवार दोधारमा पर्‍यो । दुई कठ्ठा दिएर बाँकी १७ धुरमा के गरेर कसरी परिवार चल्छ भन्ने नै ठूलो चिन्ता थियो दर्जी परिवारको । 

त्यही कुरामा रुमल्लिरहेका बेला दशरथले फेरि अर्को पासा फाले । तीन महिनापछि ८५ हजार रुपैयाँ फिर्ता दिए जग्गा फिर्ता गरिदिने गरी कागज गर्न सकिने बताए । 

विदेशमा कमाएपछि तिर्ने सपना 

मनवीरलाई विदेश गएर कमाइहालिन्छ भन्ने लाग्यो । ८५ हजार रुपैयाँ फिर्ता गर्न त्यति गाह्रो नहोला भन्ने सोचेर बुवा लक्ष्मण दर्जी आफ्नो नामको दुई कठ्ठा जग्गा दशरथका नाममा राजीनामा पास गरिदिने र छोरोलाई कतार पठाउने निधो गर्नुभयो । 

दशरथले आफ्नै साथी सन्देशलाई साक्षी राखेर श्रीमती शुभलक्ष्मी गिरीको नाममा जग्गा पास गर्नुभयो । त्यतिबेला गरिएको कागजमा मनवीर, दशरथ आफैं र बुवा मात्रै साक्षी बसे पुग्ने भन्दै कागज पनि गराए । 

जग्गा पास र कागज गरेपछि फरार 

दशरथले गैंडाकोटमा रहेको दर्जी परिवारको कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा श्रीमती शुभलक्ष्मी गिरीका नाममा पास गरिदिए पछि विदेश पठाउनु त कता हो कता सम्पर्कमै आउन छोडे । 

गिरीको घरमा जाँदा थाहा भयो, उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्तै गइसकेका रहेछन् । वरपरकालाई सोध्दा कहाँ गएको हो, थाहा छैन भने । 

बुवाले गरे आत्महत्या 

विदेशको सपनाले मानवीरको परिवारलाई जग्गा बिहीन मात्रै बनाएको छैन परिवारमा पनि बिपत्ति भित्रियो । छोरालाई विदेश पठाउने सोचमा जग्गा गएपछि तनावमा रहेका मनवीरका बुवाले एक वर्षपछि आत्महत्या गर्नुभयो ।

‘गाउँमा कतै निस्किने बित्तिकै सबैले कुरा काट्दा उहाँ तनावमा हुनुहुन्थ्यो’ मनवीरका दाजु भक्तबहादुरले भन्नुभयो ‘त्यसैको कारण परिवारमा कलह हुन थालेपछि बुवाले घरभित्रै आत्महत्या गर्नुभयो ।’

भारत पलायन 

एक त परिवार ठूलो त्यसमाथि अभिभावक नै नरहेपछि १७ जनाको परिवारलाई खान लाउन धौ धौ हुनथाल्यो । त्यसैले मनवीर भारततिर लाग्नुभयो । अहिले उहाँ भारतमै काम गर्नुुहुन्छ । गैंडाकोटमै रहेका दाजु भक्तबहादुर भने न्यायको माग्दै हिँड्नुभयो ।  

११ वर्षपछि बल्ल प्रहरीमा उजुरी 

झण्डै ११ वर्षपछि गएको दर्जी परिवार प्रहरीकोमा पुग्यो । वैदेशिक रोजगारीमा अप्ठ्यारो परे निःशुल्क सहायता गर्ने संस्था कावासोतीमा छ भन्ने थाहा पाएका भक्तबहादुर सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा पुगेपछि केन्द्रको सल्लाह अनुसार नै प्रहरीमा गएको भक्तबहादुरले बताउनुभयो । 
‘भक्तबहादुरको समस्या अलि फरक रहेकाले पनि उनलाई प्रहरीमा जान सुझाव दिएका थियौं’ केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले भन्नुभयो ‘वैदेशिक रोजगार ऐन २०६४ भन्दा अघिको छ त्यसैले पनि प्रहरीमा जान सुझाव दिएका थियौं ।’ तर प्रहरीले पनि वास्ता गरेन । 

स्थानीय निकायको चुनावपछि जनप्रतिनिधि चुनिएर आएपछि गैडाकोट नगरपालिकाको समन्वयात्मक बैठकमा यो विषय उठ्यो । गैंडाकोट नगरपलिकाका उपप्रमुख विष्णुकुमारी कँडेलको संयोजकत्वमा बनेको न्यायिक समितिमा घटना दर्ताको प्रक्रिया सुरु भयो ।

त्यही बेला एजेन्ट दशरथ गिरी सम्पर्कमा आए । उनीहरुको जग्गा फर्काउन आपूmले ढिलो गरेको भएपनि नदिने नियत आफुहरुको नभएको बताउँदै घटना अगाडि नबढाउन गिरीले अनुरोध गरे ।   

गैडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले एजेन्ट र उनका परिवारसँग कुराकानी गरी जग्गा फिर्ताका लागि पहल गर्नुभयो । न्यायिक समितिमा ८ नम्बरमा दर्ता भएको मुद्दा समाधानका लागि एजेन्टका नजिकका नातेदारसँग बारम्बार सम्पर्क गरी टुङ्ग्याउने काममा तल्लीन भएपछि पीडित परिवारले न्याय पाएको उपप्रमुख विष्णुकुमारी कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘साउनमा न्यायिक समिति गठन भएपछि २५ वटा मुद्दा दर्ता भएका छन् त्यसमध्ये १५ वटा समाधान भएका छन्, जसमध्ये यो महन्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।’ 

आर्थिक अवस्था कमजोर रहेका पीडित परिवारलाई न्याय दिलाउने क्रममा पास खर्च पनि २० हजार एजेन्ट र २५ हजार जग्गावालाले व्यहोर्ने गरी मिलाइएको उहाँले बताउनुभयो । आपसी सहमतिपछि एजेन्ट गिरी जग्गा पास गर्न तयार भएका थिए ।

एजेन्ट गिरीले १३ वर्षअघि पास गरेको लक्ष्मण दर्जीका नाममा रहेको जग्गा लक्ष्मण दर्जीकी श्रीमती उजेली दर्जीका नाममा गरिएको छ । अन्ततः १३ वर्षपछि दर्जी परिवार जग्गा फिर्ता लिन सफल भयो । 

जग्गा फिर्ता पाएपछि भक्तबहादुर दर्जीले भन्नुभयो ‘अब जग्गा आफ्नो नाममा आउँछ भनेर विश्वास हराइसकेको थियो, तर फिर्ता हुँदा खुसीको सीमा छैन ।’ धरौटी राख्दा ८५ हजार मूल्य पर्ने जग्गा हाल ८० लाख पर्ने स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया