बञ्चराे प्रहारबाट एक जनाकाे हत्या

 जेठ ३, २०७६ शुक्रबार २०:४९:४० | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ परेका विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोख्रेलले बन्चरो प्रहार गरी ७४ वर्षीय बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

भुरिगाउँ बजारमा बस्ने मृतकका बुहारीले फोन गर्दा ससुराले मोबाइल फोन नउठाएपछि शुक्रबार दिउँसो घरमै गएर हेर्दा कोठाभित्र रगत मात्रै देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । 

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली घटनास्थलमा पुगेपछि घरभित्र रगत र घर नजिकै करेसाबारीमा शंकास्पद अवस्थामा खाल्डो खनी गाडिएको देखेपछी जिल्लामा खबर गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले बताउनुभयो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरियाबाट आएको टोलीले घटनास्थलमा पुगी शंकास्पद अवस्थामा गाडिएको ठाउँ उत्खनन गर्दा मृतकको टाउको र शरीर अलग गरी एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको बर्दियाका डिएसपी मदन महराले जानकारी दिनुभयो । 

उत्खनन गर्दा शवको शरीर र टाउको अलग रहेको प्रहरीले जनाएको छ । घरमा बावु छोरामात्र भएको अवस्थामा जेठ १ गते राति हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । हत्या अभियोगमा मृतकका ६ छोरा मध्ये साइला छोरा दोर्णरत्नलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले पक्राउ गरेको जनाएको छ ।

मृतककी श्रीमती जेठो छोराको घर सुर्खेत गएको र घरमा अरु कोही नभएको अवस्थामा कोठाभित्रै बन्चरो प्रहार गरी हत्या गरेर करेसाबारीमा गाडेको हुनसक्ने प्रहरीले जनाएको छ । 

आफ्नै बावुको हत्या अभियोगमा पक्राउ परेका छोरा पाेख्रेल केही महिनादेखि गाँजा खाएर भुरिगाउँ बजार क्षेत्रमा डुलिरहने गरेको दाजु बासुदेव पोख्रेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया