इटहरी उप महानगरमा घरकाे नक्कली नक्सा र इजाजत पत्र बनाउने गिरोह सक्रिय

 जेठ ४, २०७६ शनिबार १३:१५:४७ | सुमन पुरी
unn.prixa.net

इटहरी - इटहरी उप महानगरपालिका भित्र कर्मचारीको मिलेमतोमा नक्कली घर नक्सा बनाउने गिरोह सक्रिय रहेको भेटिएको छ ।

इटहरीकी मिरा खड्काको घर नक्सा नक्कली बनाइदिएको फेला परेपछि उप महानगरले छानबिन शुरु गरेको छ । घर नक्सा किर्ते प्रकरणमा उप महानगरका कर्मचारीसमेत संलग्न रहेको हुन सक्ने उप महानगरको आशंका रहेको छ ।

इटहरी  उप महानगरपालिकाका उप मेयर लक्ष्मी गौतमले नक्कली घर नक्सा बनाइदिने गिरोह सक्रिय रहेको भेटिएपछि छानबिन शुरु गरेको बताउनु भयो । उहाँका अनुसार घर नक्साको दर्ता हेर्दा उप महानगरको सिरlयलसँग मिल्दो जुल्दो देखिएकाले कर्मचारीको समेत मिलेमतो हुनसक्ने आशंकामा छानबिन सुरु गरिएको हो ।

नक्कली घर नक्सा बनाएको आरोपमा प्रहरीमा उजुरी्समेत दर्ता भएको छ । इन्जिनियर फरार रहेकाले नाम खुलाइएको छैन ।  छानबिन समितिमा वडाअध्यक्ष्हरु र प्रशासनका कर्मचारीहरु रहेका छन् ।

इटहरी-५ की मिरा खड्काका श्रीमान लाहुरे हुुनुहुन्छ । घर बनाउनुपर्ने भएपछि धेरै कुद्नु पर्ने र कुद्ने मान्छे नभएपछि घर नक्सा सहितको काम गर्न मिराले गएकाे माघमा आफ्नो घर निर्माणको जिम्मा एउटा कम्पनीलाई दिनुभयो । ठेक्का सम्झौताकै बेला विल्ड एंगल्स कन्स्ट्रक्सनका सञ्चालक सञ्जय काफ्लेलाई सात लाख रुपैयाँ एड्भान्स समेत दिएकाे खड्काले जानकारी दिनुभयो ।

आफन्त मार्फत काफ्लेलाई ठेक्का दिएपछि घर नक्साको काम पनि उनैले गरिदिए । घर बनाउन अनुमति पाएका कागज पनि काफ्लेले बनाइदिएको खड्काले बताउनुभयो । उप महानगरको स्वीकृति पाएपछि घर बनाउने काम पनि सुरु भयो । तर काम सुरु भएपछि भने घर बनाउन कम्पनीले आलटाल गर्यो । काम पनि सुरु भयो, तर लगत्तै काफ्ले बाउन्स चेकसम्बन्धी अर्कै मुद्धामा पक्राउ परे ।

घर बनाउन ऋणको प्रक्रिया चलिरहेको थियो । ठेकेदार नै समातिएपछि कागजी कामको विषयमा बुझ्न खड्का इटहरी उपमहानगरपालिका पुग्नुभयो । त्यहाँ पुगेर फाइल खोज्नुभयो तर फाइल भेटिन । फाइल नभेटिएपछि उहाँ घर नक्सा पास भएको आफूसँगको फाइल बोकेर इन्जिनियर विकास भट्टराईको कार्यकक्ष्मा पुग्नुभयो ।

इन्जिनियरले नक्सामा भएको दस्तखत आफ्नो होइन भन्दै कारबाही गर्ने चेतावनी दिएपछि खड्का अचम्ममा पर्नुभयो । घर बनाउन स्वीकृतिमा समेत कर्मचारीको सही नभएको पुष्टि भएपछि इटहरी उप महानगरमा किर्ते काम भइरहेको खुलासा भयो ।

उप मेयर लक्ष्मी गौतमका अनुसार नक्सा पास गर्ने क्रममा नक्कली फाइल नम्बर राखेर सहीछापसमेत नक्कली गरेर डकुमेन्ट बनाएको खुलेको हो । उप महानगरपालिकाका इन्जिनियर विकास भट्टराई, प्रमुख इन्जिनियर अर्जुन दहाललगायत चार जनाको हस्ताक्षर किर्ते गरेको भेटिएकाे इन्जिनियर विकास भट्टराईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया