चरेस तस्करी गर्ने भारतीय नागरिक छुटाउन प्रदेशसभा सांसदलाई बन्धक बनाउने प्रयास

 जेठ ४, २०७६ शनिबार १४:१४:३० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेकाे प्रदेशसभा १(१) बाट निर्वाचित सांसद कृष्ण केसी (नमूना) लाई शुक्रबार उहाँकै निर्वाचन क्षेत्रमा बन्धक बनाउने प्रयास गरिएको छ ।

भारतीय सीमाको नरैनापुर गाउँपालिकाको कार्यालयमा केही नेपाली नागरिकसहित भारतीय नागरिकको घेराबन्दीमा पर्नुभएकी बाँके क्षेत्र नम्बर १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य केसीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सकुशल उद्धार गरेर राति दुई बजे नेपालगञ्ज पुर्‍याएको थियाे ।

भारतीय सीमासँग जोडिएको बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरमा लाग्ने हाटबजारमा व्यवसाय गर्ने भारतीय नागरिक देबिदिन विकलाई प्रहरीले शुक्रबार अपरान्ह पाँच किलो चरेससहित पक्राउ गरेपछि उनको रिहाइका लागि सीमापारीबाट भारतीय नागरिक समेत नरैनापुर पुगेका थिए । त्यसै क्रममा निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा रहनुभएकी सांसद केसीको गाडी रोकेर उनीहरुले भारतीय नागरिक निर्दोष भएकाले तत्काल रिहाइ गरिदिन सांसद केसीलाई दबाब दिए।

शनिबार नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै सांसद केसीले  आफ्नै निर्वाचन क्षेत्रमा बाहिरका मानिसबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुस भएको बताउनुभयो ।  सांसद केसीले स्थानीयकाे कुरा सुनेपछि इलाका प्रहरी कार्यालय पुगेर जानकारी लिइ फर्कन लाग्दा गाडीको हावा फुस्काएर आक्रमणको प्रयास भएको दावी गर्नुभयो ।

करिब ६ बजे नरैनापुर पुग्नु भएकी सांसद केसीलाई सदरमुृकाम नेपालगञ्जबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले राति १० बजेर गाउँपालिकाबाट इलाका प्रहरी कार्यालय भगवानपुर हुँदै सदरमुकाम नेपालगञ्ज पुर्‍याएको हो । घटनाका समयमा सुरुमा नरैनापुरमा चारजना प्रहरी र केही सशस्त्र प्रहरी मात्रै भएका कारण भिड अनियन्त्रित भएको थियो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्थिति नियन्त्रणमा लिने क्रममा ६३ राउण्ड हवाइ फायर  र अश्रुग्यास समेत प्रहार गरिएको जानकारी दिनुभयो ।

 त्यस क्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका एकजना जवान घाइते भएका छन् । आक्रोशित भिडले इलाका प्रहरी कार्यालय भोज भगवानपुरभित्र राखिएको गाडी र मोटरसाइकलसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सापकोटाले अहिले स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जानकारी दिनुभएकाे छ ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया