बालबालिकाको आँखामा लाग्ने क्यान्सर के हो र कसरी बच्ने ?

 जेठ ४, २०७६ शनिबार १६:१७:५३ | विना न्याैपाने
unn.prixa.net

‘रेटिनोब्लास्टोमा’ भनिने आँखाको क्यान्सरबारे नेपालमा मात्र होइन, विश्वभरि नै जनचेतनाको अभाव छ । यसैले, केही वर्षयता हरेक मे महिनामा ‘रेटिनोब्लास्टोमा अवेरनेस विक’ मनाइने गरिएको छ । 

नेपालमा पनि यस वर्षदेखि रेटिनोब्लास्टोमा जनचेतना सप्ताह मनाउन सुरु गरिएको छ । नेपालका २७ वटा आँखा अस्पतालले वैशाख २९ गतेदेखि विभिन्न कार्यक्रमहरू आयोजना गरी रेटिनोब्लास्टोमा जनचेतना सप्ताह मनाइरहेका छन् । आँखाको शल्यक्रिया र प्लास्टिक सर्जरी गर्ने चिकित्सकहरूको संस्था ‘नेप्लिज सोसाइटी फर अक्युलोप्लास्टिक सर्जरी’ को पहलमा देशभर एकैसाथ यो सप्ताह मनाइएको हो ।

पछिल्लो समय नवजात शिशु र तीन वर्षमुनिका बालबालिकामा आँखाको क्यान्सर बढी देखिन थालेकोले जनचेतना सप्ताह मनाउन थालिएको विशेषज्ञहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार प्रत्येक २० हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमा देखापर्छ । 

साथी विना न्यौपानेले तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुसँग यसबारे कुराकानी गर्नुभएको छ ।

बालबालिकाको आँखामा क्यान्सर किन हुन्छ  ?  

यो एउटा जेनेटिक रोग हो । हाम्रो शरीर कस्तो बन्ने भन्ने कुरा जिनले नै निर्धारण गर्छ । त्यस्तै आँखाभित्र पनि रेटिना हुन्छ, रेटिनाको आकार कत्रो हुने, कस्तो हुने भन्ने कुरा जिनले नै निर्धारण गर्छ । जिनमा खराबी आयो भने त्यसले रोक्न सक्दैन । त्यो क्रम नरोकिने हुँदा  अशोभनीय रुपमा मासु पलाउन थाल्छ रेटिनामा । त्यस्तो अवस्थामा क्यान्सर हुने हो । 

जिनमा खराबी आयो भने त्यसले रोक्न सक्दैन भन्नुभयो । जिनमा खराबी किन आउँछ  ? 

जिनमा खराबी एउटा आमाबाट आउँछ, वंशाणुगत खालको । आमाको जिनमा पहिल्यैदेखि खराबी छ भने यसमा पनि दुईटा हुन्छ । एउटामा मात्रै खराब छ भने रोग लाग्ने माध्यम त भयो तर रोग लाग्दैन ।  दुवै जिनमा खराबी आयो भने रोग लाग्ने हो । यो भनेको आमालाई पनि छ, बाबुलाई पनि छ भने बालबालिकामा जिन खराब हुने सम्भावना हुने भयो ।  

अर्काे बच्चा बढ्ने क्रममा हाम्रो शरीरको विभिन्न कारणले गर्दा खराबी आउन सक्छ । आमा बाबुमा खराबी नभए पनि आफैँमा खराबी आउन सक्छ । 
नेपालमा आँखाको क्यान्सरबाट हुने मृत्युदर धेरै छ, यो विकसित देशमा हुँदैन । विकसित देशमा एक प्रतिशतभन्दा कम हुन्छ, मृत्युदर ।

तर हाम्रो जस्तो देशमा सय जनामा ७० जनाले ज्यान गुमाएका छन्, यो आँखाको क्यान्सरले ।  किन यस्तो हुन्छ भनेर खोज्दा प्रमुख कारण गरिबी भेटियो । त्यसले गर्दा पनि ढिला आउने, अन्धविश्वास र अशिक्षाले गर्दा बढेको छ । गरिबीलाई हामीले हटाउन नसके पनि अन्धविश्वास र अशिक्षालाई त चिर्न सकिन्छ भन्ने उद्देश्यले ‘नेप्लिज सोसाइटी फर अक्लोप्लास्टिक सर्जन्स्’ भन्ने सोसाइटीले पहिलोचोटी धेरैभन्दा धेरै मानिसलाई सचेत बनाउँ भन्दै नेपालभरको २७ वटा आँखा अस्पतालमा कार्यक्रम गरेका छौं ।  

काठमाण्डौमा त थाहा पाउन त्यति गाह्रो छैन । तर नेपालको धेरै ग्रामीण क्षेत्रमा थाहा पाउन  गाह्रो छ । त्यसको लागि के गर्नुभएको छ ? 

ग्रामीण क्षेत्रका बासिन्दाले थाहा पाउन् भनेर नै २७ वटा अस्पतालमा सात दिनसम्म एकै साथ कार्यक्रम मनाइएको छ । कतिपयले फेसबुकमा राख्ने गरेका छन्, रेटिनाब्लाष्टोमा भएको । तर उनीहरुले एक डरलाग्दो रोग लागेर बालकको आँखा यस्तो भयो उपचार गर्ने पैसा जुटाउँ भनेर राखेका हुन्छन् । अबदेखि हाम्रो कार्यक्रमले अनौठो रोग लागेको भन्नेहरुले आँखाको क्यान्सर भन्नेर जानून् भन्ने आशय हो । अर्काे हामीले गाउँ गाउँमा गएर शिविर गर्ने तथा शिक्षा दिने काम गरेका छौं । 

कस्तो खालको लक्षण देखा पर्याे भने आँखाको क्यान्सर भएको भनेर शंका गर्न मिल्छ ?

आँखाको नानीमा अनौठो सेतो टिका देखियो भने, 
सिधा आँखा बाङ्गो देखिने भयो भने, 
असामान्य रुपमा आँखा रातो हुने, 
आँखा बाहिर निस्कियो भने,
आँखाको आकार ठूलो हुनु नै यो रोगको मुख्य लक्षणहरू हुन्। । 

जोखिम के के छन् ? 

समयमा नै पत्ता लगाउन सक्यौं भने बालबालिकाको दृष्टि पनि बचाउन सकिन्छ र उनीहरुलाई पूर्णरुपले निको पार्न सकिन्छ  । क्यान्सर भन्नेबित्तिकै मर्ने भन्ने बुझिन्छ । तर त्यो होइन । यदि समयमा परीक्षण गरियो भने बचाउन सकिन्छ । समयमा नै आउने भन्नाले आँखाभित्र हुँदैमा आउनुपर्छ । ट्युमरको साइज तीन मिलिमिटर भन्दा सानो हुँदैमा अप्रेसन भयो भने राम्रो हुन्छ आँखा । तर त्योभन्दा बढेपछि या फैलिएपछि सम्भव छैन  । 

उपचारको लागि अप्रेसन नै गर्नुपर्ने हो, औषधिबाट सम्भव छैन ?  

मिल्छ, आँखालाई सेक्न मिल्छ, रेडियसन गर्न मिल्छ । रेडियसन गर्ने धेरै वटा पद्धति हुन्छन् । त्यस्तै किमोथेरापी हुन्छ । यदि आँखा बचाउन नसकेको खण्डमा आँखाबाट फैलिएर शरीरको अरु भागमा फैलिन सक्छ । ज्यानै जान सक्छ । त्यसैले त्यो मासुको डल्लो निकालेर फाल्नुपर्छ ।  
उपचार कत्तिको महंगो छ ? 

अप्रेसन मात्रै गर्नुपर्‍याे भने त्यति महंगो छैन । तर किमोथेरापी, रेडियसन गर्नुपर्‍याे भने पाँच सात लाख रुपैयाँ लाग्छ । यदि कोही त्यस्तै विपन्न वर्ग हुनुहुन्छ, खर्च नभएर उपचार भएको छैन भने हामीले ज्यान बचाउन तयार छौं, सक्ने सहयोग गर्छौं । 

यसबाट जोगिने उपाय के छ ?

जिनबाट आउने समस्या भएकाले रोक्न गाह्रो छ । सबैभन्दा ठूलो चुनौती भनेको नै चाँडै रोग पत्ता लगाउने हो । त्यसैले  बच्चा जन्मेको एक महिनाभित्र अस्पतालमा लैजानु पर्छ ।  

त्यसपछि तीन महिनामा अनि छ, महिनामा जाँच गराउनुपर्छ । 
सफा पानीले दिनको दुई तीन पटक आँखा सफा गर्ने  । 
बालबालिका फेल भयो भने पनि आँखाको जाँच गराउनुपर्छ  । 

जान्नै पर्ने कुरा:

बालबालिका पाँच वर्षमुनिका छन् भने अलिकति अँध्यारो कोठामा लगेर फ्ल्यास कम राखेर आँखालाई फोकस गरेर फोटो खिचेर हेर्ने, आँखामा सेतो टल्कियो भने छिटोभन्दा छिटो अस्पताल लैजानुपर्छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया