लमजुङमा १ सय ६० व्यवस्थित पशु गोठ निर्माण

 जेठ ४, २०७६ शनिबार १९:५५:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको राइनास नगरपालिका–६, धमिलिकुवा र राइनास नगरपालिका–७, गरमबेसी क्षेत्रमा एक सय ६० वटा व्यवस्थित पशु गोठ निर्माण गरिएको छ ।

मानवीय सेवा तथा अन्तर सांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस)नेपाल नामक संस्थाले राइनास नगरपालिका अन्तर्गतका यी क्षेत्रमा व्यवस्थित गोठ निर्माण गरेको हो ।

राइनास नगरपालिकाको धमिलिकुवा र गरमबेसी क्षेत्रमा व्यवस्थित पशुपालन र तरकारी खेती मार्फत स्थानीयको आय–आर्जन वृद्धि गराउने उद्धेश्यले व्यवस्थित गोठ निर्माण गरिएको हो । 

गएकाे वर्ष गरमबेसी क्षेत्रमा ६० र यसवर्ष धमिलिकुवा, स्याउली क्षेत्रका १ सय घरमा व्यवस्थित गोठ निर्माण गरिएको च्वाइसका जिल्ला संयोजक सुकराम दुलालले जानकारी दिनुभयो । 

‘अहिलेसम्म १ सय ६० गोठ निर्माण भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘एउटा गोठ निर्माणमा झण्डै ८० देखि १ लाख २० हजार रुपैयाँसम्म लाग्छ । संस्थाका तर्फबाट प्रति कृषक ४० देखि ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।’

उहाँका अनुसार १ सय १ गोठ निर्माणका लागि मात्रै पूर्वाधार तर्फ ६४ लाख १५ हजार र प्राविधिक तर्फ ९ लाख ६२ हजार २ सय ५० गरी कूल ७३ लाख ७७ हजार २ सय ५० खर्च भएको छ ।

संस्थाद्वारा सञ्चालित ‘वेन्सन फुड परियोजना’ अन्तर्गत पशुपालन, कृषि तथा तरकारी खेतीकै माध्यमबाट कृषकलाई थप व्यावसायिक बनाउनुका साथै उनीहरुको आयस्तर बढाइ जीवनस्तर उकास्न कृषकहरुसँग साझेदारी गरिएको च्वाइसका कन्ट्री डाइरेक्टर प्रतिक शर्माले बताउनुभयो ।

संस्थाले स्थानीय किसानलाई गोठ सुधारका साथै तरकारी उत्पादनका लागि टनेल निर्माण कार्यमा सघाउँदै आएको छ । निर्माण गरिएका नयाँ गोठहरु कृषकहरुलाई हस्तान्तरण गरिसकिएको छ ।

राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले नगरमा पशुपालन, तरकारी खेती, नगदेबाली, खाद्यान्न उत्पादनलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताउनुभयो । ‘यी क्षेत्रको विकासमा सहयोग गर्न नगरपालिका सदा तयार छ,’ उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया