तीनै तहका सरकारमा बिचौलियाका कारण अनियमितता: अख्तियार प्रमुख घिमिरे

 जेठ ५, २०७६ आइतबार १९:३०:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले तीनै तहका सरकारमा बिचौलिया रहेको बताउनुभएको छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा बिचौलियाका कारण अनियमितता हुने गरेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको आयोजनामा कार्यालय प्रमुखहरुसँग भएको छलफल कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले हरेक क्षेत्रमा बिचौलिया चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । 

स्थानीय स्तरका बिचौलिया स्थानीय प्रशासनले नै तह लगाउन सक्ने पनि उहाँले बताउनुभयो । आफू प्रमुख जिल्ला अधिकारीसमेत भएर काम गरेको अनुभव सुनाउँदै उहाँले प्रहरी लगाएर स्थानीय स्तरका बिचौलिया प्रशासनले तह लगाउन सक्ने बताउनुभयो ।

सरकारले गरेका एक हजार ८ सय ४८ रुग्ण प्रकृतिका ठेक्काको काम हेर्दा ठूलो अनियमितता भएको पाइएको बताउनुभयो । यी योजनामा ४७ वटा योजनाको अनियमितताका विषयमा विस्तृत अनुसन्धान गरिरहेको घिमिरेले बताउनुभयो । निर्माण क्षेत्रमा अझै पनि कार्टेलिङ रहेको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया