डिजीटल नेपाल अभियान अन्तर्गत अप्टिकल फाइबर बिच्छ्याउने कामको आज औपचारिक सुरुवात हुँदै

 जेठ ६, २०७६ सोमबार ८:११:२९ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले साेमबार अप्टिकल फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात गर्दैछ ।

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो ।

डिजीटल नेपाल बनाउने अभियान अन्तरर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार दिउँसो १ बजे यसको सुरुवात गर्दै हुनुहुन्छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि साेमबार नै फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात हुने टेलिकमले जनाएको छ ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३ सय ७६ किलोमिटर फाइबर बिच्छ्याउनेछ । यसरी बिच्छ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्‍याउनेछ ।

सरकारले अप्टिकल फाइबर बिच्छ्याउने परियोजना अन्तरर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत झण्डै नौ अर्ब रुपियाँको लगानीमा अप्टिकल फाइबर बिच्छ्याउने योजना बनाएको थियो । 

त्यही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिच्छ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो । फाइबर बिच्छ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले साेमबारदेखि यसको औपचारिक सुरुवात गर्न लागिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । देशका अरु ठाउँमा पनि अप्टिकल फाइबर विच्छ्याउने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया