देवघाटमा जग्गा अतिक्रमण : सुकुम्वासीको नाममा हुकुमवासीको राज

 जेठ ७, २०७६ मंगलबार १३:४२:३४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन र तनहुँको सीमामा रहेको धार्मिक स्थल देवघाटमा जमिन अतिक्रमण बढ्दै गएको छ । पवित्र धार्मिक स्थलमा रहेका सार्वजानिक जग्गामा दिनानु दिन अतिक्रमण बढ्दा र रोक्न पहल हुन नसक्दा देवघाटको संरचनाको भविष्य नैै अन्यौलमा परेको छ । देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा पाँच हजार ४ सय ३४ हेक्टर जमिन रहेको छ ।

पवित्र तीर्थस्थल देवघाटको चितवन तर्फको २७ विगाह भन्दा बढी ऐलानी क्षेत्र मठ–मन्दिरको नाममा अतिक्रमण भएको छ । यो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूला–ठूला महलहरु बनेका छन् ।

मठ मन्दिर, आश्रम, निजी गुठी स्थापना गर्दै जमिन अतिक्रमण गर्ने क्रम रोकिएको छैन । देवघाटधामको विकासको लागि तत्कालीन श्री ५ को सरकारले देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा हुने गरी यो जग्गा छुट्याएको थियो । सुकुम्वासीको नाममा हुकुमवासीले खुलेआम जमिन अतिक्रमण गरिरहेका छन् ।

देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको जग्गाको ३० हेक्टर जमिन अतिक्रमणमा परेको छ । कतिपय क्षेत्रमा सुकुम्बासीको नाममा बस्ती समेत बसालिएको छ । देवघाट क्षेत्रमा मठ मन्दिर, आश्रम निर्माण, गुठी स्थापना गर्ने उद्देश्य राखेरै जमिन अतिक्रमण हुँदै आएको जानकारी दिँदै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले क्षेत्र विकास समितिले अतिक्रमणमा परेको जग्गाको अभिलेख तयार गरिरहेको बताउनुभयो ।

पूर्व प्रधानन्यायधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूला–ठूला महलहरु बनेका छन् । २० वटाभन्दा बढी मठमन्दिरसँगै तीन सयभन्दा बढी कुटिका नामका घरहरु निर्माण भएको देवघाट क्षेत्र विकास समितिको अभिलेखमा रहेको छ । विभिन्न जात जातिका कुल पूजा गर्ने स्थलहरुमा ठूला ठूला भवनहरु बनेका र बन्दै गरेका छन् ।

सुकुम्बासीको नाममा बस्ती बसेको क्षेत्रमा भित्रभित्रै किनबेचसमेत हुने गरेको गुनासो आइरहेको बताउँदै उहाँले पवित्र धार्मिक स्थलको स्थानीय सरकार, स्थानीय प्रशासन र राजनैतिक दलको सहयोेग लिएर अतिक्रमण नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । 

देवघाटको चितवनतर्फको गणेश मन्दिर, आँपटारी, वागेश्वरी, दियालो बंगला क्षेत्रमा पनि सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गएको पौडेलले बताउनुभयो । गणेश स्थानमा विभिन्न निजी गुठीको नाममासमेत जग्गा वितरण भइरहेको छ । चितवनतर्फ नारायणी नदीसँगै जोडिएको उत्तर दक्षिण फैलिएको सहायक मार्ग पर्दछ । यस मार्गको पश्चिमतर्फ थुप्रै सार्वजनिक संस्था र मन्दिर बनेका छन् ।

देवघाट क्षेत्र भित्र पर्ने काली भतेरी, नारायणी नदीको पुलको आसपासमा गैँडाकोटतर्फ, देवघाटको नवलपरासी तर्फको लातेटाँडी केलादी, त्रिशूली र काली गण्डकीको संगमस्थलको पश्चिमतर्फ पर्ने केलादी र गैँडाकोटको ग्यास उद्योगबाट उत्तर पूर्व तर्फको क्षेत्रमा अतिक्रमण गरिएको छ । 

जग्गा हडपेर खेती गर्ने र समितिसँग अनुमति नलिई विभिन्न मठ मन्दिर पार्क चौतारी निर्माण गर्ने क्रम बढेको छ । अतिक्रमण भएको क्षेत्रको अभिलेख तयार गरी विस्तारै खाली गराउन लागि पर्ने पौडेलले बताउनुभयो । सरकारले नीतिगत निर्णय गरेर पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नु पर्ने उहाँको माग छ । 

चितवनतर्फ नारायणी नदीसँग जोडिएको उत्तर दक्षिण फैलिएको सहायक मार्ग पर्दछ । यस मार्गको पश्चिमतर्फ थुप्रै सार्वजनिक संस्थाहरु रेडक्रस भवन उद्योग वाणिज्य संघ र अर्बुद भवन र हरिहर मन्दिर बनेका छन् । गणेशस्थान मन्दिरले सुरुसुरुमा २२ विगाह जति जमिन चर्चेको थियो । अहिले सुकुम्बासीहरुले च्याप्तै च्याप्तै ५ विगाह जति मात्र जमिन बाँकी राखेका छन् । 

देवघाट क्षेत्रको विकास गर्न २१ वर्षे गुरुयोजना निर्माण गरी काम भैरहेको छ । महत्वपूर्ण धार्मिक गन्तव्य देवघाटलाई व्यवस्थित गर्न अतिक्रमण रोक्नु पर्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया