हावाबाट बिजुली : 'पहिले हावादारी कुरा लाग्थ्याे, अहिले अचम्म छाैँ'

 जेठ ७, २०७६ मंगलबार २०:१६:२३ | रासस
unn.prixa.net

पाल्पा -  पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ । 

सुरुमा कुरा सुन्दा हावादारी जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा टुकीको भरमा बस्नुभन्दा यही ठिक भएको स्थानीयले बताएका छन् ।

बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा एक हजार २०० वाट विद्युत् उत्पादन गरेर वडा कार्यालय, स्वास्थ्यचौकी र रुक्से भन्ज्याङ बजार क्षेत्रमा सेवा दिइएको छ । पीडा नेपाल, काठमाण्डौ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रीस देशको सामाजिक संस्थाको सहयोगमा मित्याल रुक्से भञ्याङ्मा पङ्खा राखेर विद्युत् सेवा दिइएको छ ।

मित्याल वायु ऊर्जा तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारीले हावाबाट बिजुलीले सेवा मात्र नभई मानिसहरु अवलोकनका लागि आउने हुँदा आन्तरिक पर्यटकसमेत वृद्धि भएको बताउनुभयो । उहाँले विद्युत विस्तारका लागि फेरि २५ किलोवाट क्षमता वृद्धि गरिएको जानकारी दिँदै लगभग ९० प्रतिशत काम भएको जानकारी दिनुभयो । 

विद्युत सेवा थप भएपछि त्यस गाउँपालिकाको रुक्से भञ्जाङ, झ्याल्टुङ, मौलाथर, घुम्सिवर र मित्याल बजारमा विद्युत् वितरण गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । उहाँले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कृष्ण ग्रिल उद्योगले कामको ठेक्का लिएको र दुई करोड रुपैयाँभन्दा बढी लागत लाग्नसक्ने अनुमानसमेत रहेको बताउनुभयो ।

गाउँमा टुक्कीको भरमा जीवनयापन गरेका मित्यालका सर्वसाधारण नागरिक हावाबाट बिजुली निस्केपछि र त्यस सेवा पाएपछि दङ्ग छन् । बाक्लो मगर बस्ती रहेको त्यस डाँडामा राखिएका पङ्खा हावाबाट चल्छन् । 'सुन्दा पत्याएकै थिएनौँ, हावाबाट पनि बिजुली आउँदो रहेछ, हामी त अचम्म पर्याैं', स्थानीय सन्तवीर सुनारीले भन्नुभयो ।

वडा नम्बर ४ का वडाका कार्यालय सहायक सहवीर खन्गाहाले हावाबाट उत्पादित बिजुलीका कारण कार्यालयको काम गर्न सजिलो भएको बताउनुभयो । वडा कार्यालयको काम छिटोछरितो गर्नसमेत सहयोग पुगेको उहाँको भनाइ छ । बजार व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सारूले भन्नुभयो, 'सबैले हावाबाट बिजुली निकाल्नु हावादारी गफ भन्थे, यहाँ प्रमाणित भएको छ, हामीले मज्जाले बत्ती बालेका छौँ, बल्ल अहिले अचम्म मानेर मानिसहरु हेर्न आउने गरेका छन्, यसबाट आन्तरिक पर्यटन विकासमा समेत टेवा पुगेको छ ।'

बिजुलीबाट वडा कार्यालय र स्वास्थ्यचौकीमा कम्प्युटर, प्रिन्टर सञ्चालन गर्न तथा इन्टरनेट चलाउन र रुक्से भञ्ज्याङ बजारमा सात वटा बत्ती जडान गरिएका छन् ।

अहिलेसम्म मित्यालमा बिजुलीकाे केन्द्रीय प्रसारण लाइन भने पुगेको छैन । विद्युत् विस्तारका लागि गाउँपालिकाले ४० लाख रुपै‌याँ विनियोजन गरेको छ । मित्यालवासीले झण्डै एक वर्षदेखि त्याे सेवा लिँदै आएका छन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया