गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

 जेठ ८, २०७६ बुधबार ८:४२:१३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको छ । 

गस्तीमा रहेको सुरक्षाकर्मीमाथि नेकपा विप्लवका कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई मंगलबार नै धरान लगिएको थियो ।

हिले भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकाको भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसकेको र उनलाई समयमै अस्पताल पुर्‍याउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनुभयो । बुधबार बिहान ३ बजे उपचारको क्रममा धरानको घोपा क्याम्पमा उनको ज्यान गएको हो । उनको तिघ्रामा गोली लागेको बताइएको छ । 

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोलीले यो क्षेत्रमा गस्ती बढाएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले पेस्तोल, गोली, बायनाकुलर, प्रचार प्रसारका सामग्रीसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।   
 

अन्तिम अपडेट: चैत ११, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया