गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन वे निर्माण सकियो, लाइटिङ र मार्किङको काम बाँकी

 जेठ ८, २०७६ बुधबार १७:७:४४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन वे) निर्माण कार्य पूरा भएको छ । 

विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार, तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्गको निर्माण कार्य पूरा भएको हो । गएको कार्तिकदेखि रन वे निर्माणको कार्य सुरु भएको थियो । 

धावन मार्ग अर्थात् रन वे को चार तहको कालोपत्रे गर्ने कार्य सकिएसँगै अब लाइटिङ र मार्किङको कार्य बाँकी छ । राष्ट्रिय गौरवको आयोजना मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

विमानस्थलको धावन मार्ग निर्माण गर्ने कार्य निकै कठिन भए पनि सफलतापूर्वक सम्पन्न गरिएको आयाेजनाले जनाएकाे छ । रन वेको निर्माणपछि आपतकालीन र परीक्षण उडान गर्न सकिने भएको छ । विमानस्थलमा ट्याक्सी वेको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । अब एक लेयर मात्रै पिच गर्न बाँकी रहेको छ । 

ठेकेदारलाई भुक्तानी नदिँदा केही दिन धावनमार्गको निर्माण कार्य रोकिएको थियो । विमानस्थलको धावन मार्ग निर्माणको कार्य सकिए पनि टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की तथा अन्य पूर्वाधारका निर्माणाधीन अवस्थामा पनि ८० प्रतिशत बढी काम सकिएका छन् ।
 
आयोजनाको लागत ६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । तर कुल लागत ९ अर्ब बढी पुग्ने अनुमान गरिएको छ । भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्यमा ढिलाइ हुँदा लागत पनि बढ्ने भएको हो । रन वे निर्माणको जिम्मा चिनियाँ कम्पनी 'नर्थ वेस्ट सिभिल एभियसन' ले लिएको थियो । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार, यो विमानस्थल 'फोर ई' स्तरको हो । विमानस्थलको धावन मार्गको लम्बाइ र चौडाइ काठमाण्डौ विमानस्थलकै बराबर रहने छ । यो विमानस्थलमा ३ सय ५० मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छन् । बुद्ध विमानस्थलले वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सक्छ । 

विमानस्थलमा अहिले चालु रहेको रन वेलाई ट्याक्सी वे बनाइने छ । समग्रमा विमानस्थल निर्माणको कार्य ७२ प्रतिशत सकिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । 

विसं २०७१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले विमानस्थलको शिलान्यास गर्नुभएको थियो । एसियाली विकास बैंकको ६ अर्ब २२ करोडको ऋण सहयोगमा विमानस्थलको निर्माण भइरहेको छ । 

सन् २०१७ मै विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न अवरोधका कारण सन् २०१९ भित्र सम्पन्न गर्ने गरी सम्झौता लम्बिएको हो ।    
 

अन्तिम अपडेट: चैत ३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया