पञ्चेबाजा संरक्षण गर्न गाउँपालिकाले गठन गर्‍याे 'पञ्चेबाजा एकता समाज'

 जेठ ८, २०७६ बुधबार १९:२५:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - तातोपानी गाउँपालिकाले पञ्चेबाजा संरक्षण गर्नका लागि ‘पञ्चेबाजा एकता समाज’ गठन गरेको छ । गाउँपालिकाले स्थानीय स्तरमा नै पञ्चेबाजा संरक्षण गर्न एक सय सदस्यीय समिति गठन गरेको हो । 

गाउँपालिकाले विशेष प्रथामिकताका साथ एकता समाजको औपचारिक उद्घाटन समेत गरेको छ । पञ्चेबाजा संरक्षण एकता समाज तातोपानी जुम्लाका अध्यक्ष हस्त दमाईको अध्यक्षता तथा स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकको उपस्थितिमा एकता समाजको उद्घाटन गरिएको हो । 

एकता समाजका अध्यक्ष हस्त दमाईले लोप हुन लागेको पञ्चेबाजा संरक्षण गर्न समिति गठन गरेको र यो अभियानमा गाउँपालिकाले निकै ठूलोसहयोग गरेको बताउनुभयो । उहाँले कला र संस्कृति जोगाउन गाउँपालिकाले समितिलाई थप क्षमता विकास र प्रविधिका साधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गणतन्त्रमा समेत हाम्रो संस्कृति न बचाए लोप हुने भन्दै यसका लागि गाउँपालिका अध्यक्षले विशेष भूमिका खेल्ने बताउनुभयो । गाउँपालिकाले पञ्चेबाजा कार्यविधि नै बनाएर गाउँपालिकाबाट पास गरेको छ । 

जब गाउँपालिका अध्यक्ष पञ्चेबाजाको भेषमा उभिए  

बुधबार सधैँजसोका अन्य कार्यक्रमहरु भन्दा फरक भयो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने दमाईले औपचारिक सांस्कृतिक कार्यक्रममा लगाउने भेषमा निस्किएपछि कार्यक्रममा उपस्थित सबै छक्क परे । 

परम्परागत रुपमा दमाई समुदायले प्रयोग गर्दै आएको पोसाक (आगाँ) स्विटर, दौरा, सुरुवाल, फेटा सहितको भेषभुषा निकै आकर्षक मानिन्छ । त्यस भेषमा जनप्रतिनिधि नै देखिएपछि उत्साह थपिएको थियो । त्यही भेषमा बाजा बजाउने तथा नाचगान गर्ने चलन छ । 

अव भने समितिले पञ्चेबाजा संरक्षणका लागि पूर्वाधार तयार गर्ने तथा योजना बनाएर अगाडि बढ्ने पञ्चेबाजा एकता समाजका सल्लाहकार सागर परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार, पञ्चेबाजा समितिको संस्थागत विकास लागि भौतिक पूर्वाधार तयार गर्ने सबै सामग्री जुटाइने छ । ‘यस वर्ष गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । सोही अनुसार केही सामग्री खरिद गरिएको छ’, उहाँले भन्नुभयो ।  

कार्यक्रममा पञ्चेबाजा संरक्षणमा योगदान पुर्‍याउने पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया