विश्वकप क्रिकेट: कुन देशकाे ओपनिङ जाेडी कस्ताे?

 जेठ ९, २०७६ बिहिबार १६:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट सुरु हुन अब ७ दिन मात्रै बाँकी छ । विश्वकपमा सहभागी हुने १० वटै टिमले १५ सदस्यीय खेलाडी घोषणा गरिसकेका छन् ।

यसअघि नै घोषणा गरेका टिमहरुलाई आजसम्म खेलाडी परिवर्तन गर्ने सुविधा दिइएको छ । विश्वकपमा कस्काे ओपनिङ जोडी कस्तो छ त ?

१०. अफगानिस्तान

अफगानिस्तान हालै मात्र विश्वकप क्रिकेटमा आएको टिम हो । गत संस्करणमा डेब्यु गरेको अफगानिस्तानले विश्व क्रिकेटमा तहल्का मच्चाएको छ । अफगानिस्तानका बलर रासिद खान आईसीसी र्‍याङ्किङमा शीर्ष वरीयतामा रहे पनि ओपनिङ ब्याट्सम्यानको कुरा गर्दा सबैभन्दा कम अनुभवी खेलाडीहरु अफागानिस्तानका पर्छन् ।

अफगानिस्तानका लागि हजरतुल्लाह जजाई, मोहम्मद शहजाद तथा नूर अलीको काँधमा ओपनिङ गर्ने जिम्मेवारी हुने छ । हजरतुल्लाह पावर प्लेमा धेरै रन बनाउने क्षमता राख्छन् भने शहजाद पनि विस्फोटक ब्याट्सम्यान हुन् । यसैगरी टिकेर खेल्नका लागि अलीको भूमिका पनि अफगानिस्तानका लागि फाइदा पुग्ने छ ।

९. श्रीलंका

नवौं स्थानमा श्रीलंकाको ओपनिङ जोडी आउँछ । श्रीलंकाको टिममा सबै नयाँ र युवा खेलाडीहरु छन् । किनकि २०११ र २०१५ को विश्वकप पछि धेरै सिनियर खेलाडीहरुले सन्यास लिइसकेका छन् । श्रीलंकाका लागि दिमुथ करुणारत्ने र अविष्का फर्नान्डोले ओपनिङ गर्नेछन् । करुणारत्नेको करियर त्यति राम्रो नभएकाले दुवैको विकल्पमा कुसल मेन्डिस तथा लहिरु थिरिमाने पनि हुनेछन् ।

८. बंगलादेश

ओपनिङ जोडीको रुपमा कुरा गर्ने हो बंगलादेशको जोडी आठौं स्थानमा आउँछ । बंगलादेशमा अनुभवी तथा उत्कृष्ट फर्ममा रहेका खेलाडी छन् । बंगलादेशका लागि तमिम इकबाल, लिटन दास र मोहम्मद मिथुनमध्ये २ खेलाडीले ओपनिङ गर्नेछन् जसमा तमिम इकबालबाट बंगलादेशले ओपनिङमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।

तर अर्को छेउबाट उनलाई साथ दिने खेलाडी भने बलियो चाहिन्छ ।

७. न्यूजिल्याण्ड

न्यूजिल्याण्डका लागि मार्टिन गप्टिल र काेलिन मनरोको काँधमा ओपनिङ गर्ने जिम्मेवारी हुनेछ । गप्टिलको तुलनामा मनरोको प्रर्दशन भने राम्रो नभएकाले ब्याकअपका रुपमा हेनरी निकोलस पनि हुनसक्ने आकलन गरिएको छ ।

६. वेस्ट इण्डिज

वेस्ट इण्डिजका खेलाडीहरुले पछिल्ला वर्षमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । लगातार २ पटक विश्वकप जितेको वेस्ट इण्डिजले विश्वकपमा पछिल्लो समय सम्झन योग्य प्रदर्शन नगरे पनि विश्व क्रिकेटमा व्यक्तिगत प्रदर्शन उत्कृष्ट नै छ । अहिले पुराना खेलाडीहरुलाई पनि वेस्टइण्डिजले स्थान दिएकाले विश्वकपमा राम्रो प्रदर्शन गर्ने आकलन गरिएको छ ।

वेस्ट इण्डिजका लागि क्रिस गेल एक जनाले ओपनिङ गर्ने पक्का जस्तै भएपनि उनको साथीको रुपमा शाई होप र एविन लेविसमध्ये एक जना आउनेछन् ।

५. दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका क्रिकेटरहरु पनि व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्छन् । उत्कृष्ट क्रिकेटरहरुको टिम भएर पनि दक्षिण अफ्रिकाले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न पाएको छैन । ओपनिङको कुरा गर्दा दक्षिण अफ्रिकाका खेलाडीहरुलाई पाँचौँ नम्बरमा राखिएको छ । विश्वकपमा क्विन्टन डी कक र हशिम अमलाले दक्षिण अफ्रिकाका लागि विश्वकपमा ओपनिङ गर्नेछन् ।

उनीहरुको विकल्पको रुपमा दक्षिण अफ्रिकासँग एडेन र्माकर र रस्सी भ्यान डसेनको जोडी हुनेछ । दक्षिण अफ्रिकालाई एबी डीभिलियर्सको कमी भने खड्किनेछ । उत्कृष्ट फर्ममा हुँदा-हुँदै गएकाे वर्ष डीभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।

४. पाकिस्तान

पाकिस्तानको ओपनिङ जोडी चौथो नम्बरमा पर्छ । पाकिस्तानका लागि इमाम उल हक र फखर जमानले ओपनिङ गर्नेछन् । युवा खेलाडी इमाम उल हकले हालै भारतीय खेलाडी कपिल देवले ३६ वर्ष अघि बनाएको रेकर्ड तोडेका थिए । उनले इंग्ल्याण्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा १५० रन बनाएपछि कपिल देवको नाममा भएको युवा खेलाडीको रेकर्ड तोडिएको थियो ।

पाकिस्तानसँग इमाम उल हक र फखर जमानको व्याकअपको रुपमा बिद अली पनि हुनेछन् । उनले डेब्यु खेलमा शतक लगाएका थिए ।

३. अस्ट्रेलिया

अस्ट्रेलियाका लागि डेभिड वार्नर एरोन फिन्चले ओपनिङ गर्ने छन् । अस्ट्रेलियाका लागि खेल्न डेभिड वार्नर अहिले उत्कृष्ट फर्ममा रहेका छन् । उनले हालै आईपीएल क्रिकेटमा सर्वाधिक रन बनाउँदै अरेन्ज क्याप समेत जितेका थिए । टिमका लागि उस्मान खवाजा पनि ओपनिङ ब्याकअपका रुपमा रहेका छन् ।

२. इ‌ंग्ल्याण्ड

इ‌ंग्ल्याण्डका लागि जोन बेयरस्टो र जेसन रोयले ओपनिङ गर्नेछन् । बेयरस्टो आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै फर्ममा आइसकेका छन् । इंग्ल्याण्डका लागि तेस्रो विकल्पको रुपमा जाे डेन्ली रहेका छन् । तर बेयरस्टो र रोयको जोडीले १०० को स्ट्राइक रेटमा धेरै रन बनाएका छन् ।

१. भारत

भारतीय मिडियाकै कुरा पत्याउने हाे भने, भारतसँग विश्वकै उत्कृष्ट ओपनिङ जोडी रहेको छ । भारतका लागि शिखर धवन र रोहित शर्माले ओपनिङ गर्नेछन् । यी दुवै जनाले २०१३ देखि भारतका लागि ओपनिङ गर्दै आएका छन् । यी दुईका लागि केएल राहुल ब्याकअप हुनसक्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • devon

    May 23, 2019, 11:58 p.m.

    अहिले नि भारत कै गुलामि हुदा हुदा मिडियाले पछि लगेछन ईङ्ल्याण्ड को सामु भारतको अोपन जोडि बच्चा हो 😂😂😂

  •  0 Reply

तपाईको प्रतिक्रिया