ब्याट्री चार्ज गर्नको लागि निदाउँछु: हिरण्यलाल श्रेष्ठ (भिडियाे)

 जेठ १०, २०७६ शुक्रबार ७:१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ७७ वर्षका हिरण्यलाल श्रेष्ठ अझै पनि सक्रिय जीवन बिताइरहनुभएको छ । २०१२ सालतिर पत्रकारिताबाट लेखन यात्रा सुरु गर्नुभएका उहाँ पछिल्लो समय परराष्ट्र मामिलाका विषयमा आफ्नो कलम चलाउनुहुन्छ ।

उहाँका परराष्ट्र नीतिसँग सम्बन्धित पुस्तक पनि प्रकाशित भएका छन् । पत्रकारितापछि शिक्षण पेसा र राजनीतिमा लाग्नुभएका श्रेष्ठ २०४९ र २०५१ सालमा तत्कालीन नेकपा एमालेको तर्फबाट सांसद् समेत बन्नुभयो । त्यसको केही समयपछि उहाँले राजनीति छाड्नुभयो अनि रसिया, चीन र बुल्गेरियामा राजदूतको रुपमा काम पनि गर्नुभयो । 

मुटु र पेटको शल्यक्रिया भैसकेको छ । मधुमेहले पनि साथ छाडेको छैन । तर पनि आफूलाई ७७ वर्षको युवा भन्न रुचाउनुहुन्छ हिरण्यलाल श्रेष्ठ । 

गएको वैशाख १८ गते ७७ वर्ष ७ महिना ७ दिन ७ घडी ७ पला मिलाएर उहाँको जंखु गरियो । छोरानातीले बोकेर टोल परिक्रमा गराउँदा उहाँलाई निकै रमाइलो लाग्यो । उमेर र शाररिक रुपमा कमजोर हुँदै गए पनि उहाँ आफूलाई युवा भन्न मन पराउनुहुन्छ । यसमा उहाँको आफ्नै तर्क छ,‘निराश छ, उत्साह र जाँगर कम छ भने कम उमेरमा पनि बुढो हुन्छ तर उमेर पुगेर पनि रोग विरुद्ध लडिरहेको छ अनि विकृतिविरुद्ध बोलिरहेको छ भने उ युवा नै हो । त्यसैले म आफूलाई युवा नै भन्न रुचाउँछु ।’

फुर्सदमा अध्ययन गर्ने श्रेष्ठ पढ्दापढ्दै अल्छी लागे घुर्न थाल्नुहुन्छ । भन्नुहुन्छ,‘ब्याट्री चार्ज गर्नको लागि अल्छी लागेपछि निदाउँछु ।’

खाना पकाउन पनि निकै रुची राख्ने श्रेष्ठ चिया धेरै खानुहुन्छ । दिनमा १०–१२ कप चिया खाने उहाँ आफ्नै हातले बनाएर ४ कपसम्म भ्याउनुहुन्छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया