प्रयर्टन प्रबर्द्धनका लागि बर्दिया र पोखराले गाँसे मितेरी साइनो

 जेठ १०, २०७६ शुक्रबार १४:४९:१५ | भावुक योगी
unn.prixa.net

बर्दिया- प्रयर्टन प्रबर्द्धनका लागि बर्दियाले पोखरासँग मितेरी साइनो गाँसेको छ । पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरी र पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवि पोखरेलले मितेरी साइनो गाँस्नुभएको हो । 

पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा बर्दिया र पोखराको पर्यटन प्रबर्द्धन गर्न भन्दै दुवै जिल्लाका पर्यटन व्यवसायीका अध्यक्षले मितेरी साइनो गाँस्नुभएको होटल व्यवसायी बिना भट्टराईले बताउनुभयो ।  

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेको उपस्थितिमा दुई जिल्लाका पर्यटन व्यवसायीले पोखरा पुगेर साइनो गाँस्नुभएको हो । 

प्रदेश नम्बर ५ ले ‘लुम्बिनी भ्रमण वर्ष’ र गण्डकी प्रदेशले ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेको अवस्थामा बर्दियाले पनि पहिलो पटक ‘बर्दिया भ्रमण वर्ष’ घोषणा गरेर पर्यटन प्रबर्द्धनका लागि पोखरा पुगेर मितेरी साइनो गाँसेको हो । 

मितेरी साइनो गाँसेपछि शुक्रबारबाट नै पोखराका पर्यटकलाई बर्दियासम्म र बर्दियाका पर्यटकलाई पोखरासम्म पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । साइनो गाँसेसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई बर्दियासम्म पुर्‍याउन सहयोग गर्ने पोखराका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् । 

यस्तै बर्दियाको ठाकुरद्वारादेखि पोखरा र पोखरादेखि ठाकुरद्वारासम्म आवत–जावत गर्न पर्यटकका लागि सुविधा सम्पन्न पर्यटक बस सेवा सञ्चालन गर्ने समेत जनाइएको छ । बर्दिया र पोखराका २० जना व्यवसायीहरुले ‘टी ट्वान्टी टुर्स एण्ड ट्राभल्स’ मार्फत सुविधा सम्पन्न पर्यटक बस एक महिनाभित्रै सञ्चालनमा ल्याइने बर्दिया–पोखरा सम्पर्क मञ्चका सल्लाहकार मेघमान श्रेष्ठले बताउनुभयो । 

बुधबार बिहान पोखरा पुगेको टोलीलाई बर्दिया–पोखरा सम्पर्क मञ्चले भव्य स्वागत गरेको थियो । कार र्‍यालीको टोलीलाई पोखरा बजार परिक्रमा गराइएको थियो । ‘देशको शान, अन्तर्राष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया’ भन्ने मूल नारासहित विसं २०७६ लाई ‘बर्दिया भ्रमण वर्ष’ घोषणा गरिएको हो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ र ‘बर्दिया भ्रमण वर्ष २०७६’ लाई सफल बनाउन बर्दिया निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु आईतबार कार र्यालीमा निस्किएका थिए ।

बर्दियामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरि ‘बर्दिया भ्रमण वर्ष २०७६’ लाई भव्य रुपमा सम्पन्न गर्ने योजनाका साथ कार र्यालीको आयोजना गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार र्यालीमा निस्किएको ७१ जनाको टोली बर्दिया, बाँके, दाङ, लुम्बिनी, बुटवल, पाल्पा, पोखरा, तनहुँ हुँदै चितवन पुग्ने छ । कार र्यालीमा निस्किएको टोलीले जिल्लाका प्रमुख बजार तथा चोकमा पोस्टर टाँस्दै बाघ लगायतका वन्यजन्तु र विभिन्न प्रजातिका चरा अवलोकनका लागि सबैलाई बर्दिया घुम्न आउन निम्तो समेत दिइएको पर्यटन व्यवसायी तथा चराविज्ञ रामबहादुर शाहीले बताउनुभयो ।  

यस्तै शुक्रबार बेलुका चितवनका होटल तथा पर्यटन व्यवसायीसँग बर्दियाको पर्यटन प्रबर्द्धन विषयमा अन्तर्क्रिया गरिने चिसापानी पर्यटन प्रर्बद्धन समितिका पूर्व अध्यक्ष तथा कार र्‍याली समन्वय उप समितिका संयोजक कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।  

गएको माघ १ गते बर्दियाको ठाकुरद्वारामा आयोजना गरिएको बर्दिया माघी महोत्सवको उद्घाटन समारोहमा विसं २०७६ लाई बर्दिया भ्रमण वर्ष घोषणा गरिएको थियो । 

ठाकुरबाबा नगरपालिका, नेपाल पर्यटन बोर्ड र पर्यापर्यटन विकास मञ्चको आर्थिक सहयोगमा निस्किएको कार र्‍याली १२ गते बर्दियाको सदरमुकाम गुलरिया पुगेर समापन गरिने बर्दिया टाइगर रिसोर्टका प्रबन्धक रेशम थापाले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य हो । निकुञ्ज भ्रमण गर्दा जंगल पदयात्रा, जीप सफारी, हात्ती सफारी, जलयात्रा, क्याम्पिंग, फिसिंग, थारु सांस्कृतिक नाच, थारु समुदायको मौलिक परिकार आदीको अवलोकन गर्न सकिन्छ । 

बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसँगै बाघ हेर्न बर्दिया आउने पर्यटकको संख्या समेत बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकहरु बाघ हेर्न चितवनपछि बर्दिया आउने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ, ३७ वटा एकसिँगे गैँडा र १ सय बढी हात्ती रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया