विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर पराजित भएका १० टिम

 जेठ १०, २०७६ शुक्रबार १४:२४:४८ | एजेन्सी
unn.prixa.net

सन् १९७५ देखि अहिलेसम्म विश्वकप क्रिकेटमा ११ वटा संस्करण पूरा भएका छन् । १२ औं संस्करण ३० मेदेखि इंग्ल्याण्डमा सुरु हुँदै छ । विश्वकप सुरु हुनु पूर्वका खेलहरु पनि शुक्रबारदेखि सुरु भएका छन् । 

क्रिकेट हो नतिजाको विषयमा तत्कालै आँकलन गर्न अलि अप्ठेरो पनि हुन्छ । कतिबेला बलर र ब्याट्सम्यानले खेलको पासा पल्टाउँछन् अनुमान गर्न गाह्रो हुन्छ । तर सधैं राम्रो प्रदर्शन गर्ने टिमले जित मात्रै हात पार्छ भन्ने पनि छैन । आज हामीले विश्वकपमा राम्रो प्रदर्शन गर्दा गर्दै पराजित भएका खेलको विषयमा जानकारी दिदैछाैँ ।

१. अस्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका (१९९९)

विश्वकप १९९९ को सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेलेका थिए । यस खेलमा पहिला व्याटिङ गर्दै अस्ट्रेलिया २१३ रनमा अल आउट भएको थियो ।

२१४ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको दक्षिण अफ्रिकाले उत्कृष्ट सुरुआत गरेको थियो । तर १७५ रन बनाउँदा उसले ६ विकेट गुमायो । त्यसपछि क्रिजमा आएका लस क्लूजनरले १६ बलमा आक्रामक ब्याटिङ गर्दै ३१ रन बनाएका थिए । तर अन्तिम बलमा रन रन लिँदै स्ट्राइक आफ्नो पक्षमा राख्ने लोभले उनी रन आउट भए । त्यसपछि लय बिग्रिएको अफ्रिकाले जित निकाल्न सकेन र म्याच नै बराबरी भयो ।

तर रन रेटमा अघि रहँदै अस्ट्रेलिया फाइनलमा पुगेको थियो । उक्त फाइनल अस्ट्रेलियाले नै जितेको थियो ।

२. न्यूजील्याण्ड भर्सेस अस्ट्रेलिया १९९६

भारतमा भएको १९९६ विश्वकपको चौथो क्वार्टरफाइनलमा न्यूजील्यायण्ड र अस्ट्रेलिया खेलेका थिए ।

न्यूजील्याण्डले पहिला व्याटिङ गर्दै २८६ रन बनाएको थियो । जसमा क्रिस हेरिसले १३० रनको शानदार पारी खेलेका थिए भने कप्तान ली जर्मनले ८९ रन बनाए ।

जवाफमा आक्रामक प्रदर्शन गर्दै अस्ट्रेलियाले ४७.५ ओभरमा जित निकाल्न सफल भएको थियो । यसमा मार्क वाले शतकीय पारि खेल्दै जित दिलाएका थिए । १९९६ मा २५० भन्दा माथिको स्कोर ५० ओभरमा रक्षा गर्न सकिने स्कोरमा लिइन्थ्यो ।

साथै न्यूजील्याण्डका हेरिसले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए पनि उक्त खेलमा न्यूजील्याण्ड पारजित हुन पुग्यो ।

३. भारत भर्सेस श्रीलंका (१९६६)

विश्वकप १९९६ को समूह चरणको २४ औं खेलमा भारत र श्रीलंका खेलेका थिए । पहिला ब्याटिङ गर्दै भारतले २७१ रन बनाएको थियो । 

सचिन तेन्दुलकरले १३७ रन बनाउँदा कप्तान मोहम्मद अजहरुद्दीले ७२ रनको योगदान गरेका थिए । तर श्रीलंकाले भारतले दिएको २७२ रनको लक्ष्य ४८.४ ओभरमा पूरा गरेको थियो । श्रीलंकाको जितमा सनथ जयसूर्या र तिलकरत्ने दिलशानले अर्धशतकीय पारी खेलेका थिए ।

४. पाकिस्तान भर्सेस बंगलादेश (१९९९)

१९९९ को विश्वकपमो २४ औं खेलमा पाकिस्तान र बंगलादेश खेलेका थिए । पाकिस्तानले टस जितेर पहिला फिल्डीङ गर्ने निर्णय गर्‍यो । सुरुआती ब्याटिङ गरेको बंगलादेशले २२४ रन बनाएको थियो ।

पाकिस्तानका सकलेन मुश्ताकले १० ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिएका थिए । २२५ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको पाकिस्तान ४४.३ ओभरमा १५१ रनमा समेटिन पुगेको थियो । उक्त खेलमा निकालेको जित नै बंगलादेशको एक दिवसीय क्रिकेटको पहिलो जित थियो । बंगलादेश विजयी भएपछि सकलेन मुश्ताकको ५ विकेट खेल गएको थियो ।

५. अस्ट्रेलिया भर्सेस वेस्ट इण्डिज (१९७५)

विश्वकपको पहिलो संस्करणको फाइनलमा वेस्टइण्डिज र अस्ट्रेलिया खेलेका थिए । इंग्ल्याण्डको लर्डस मैदानमा भएको फाइनलमा अस्ट्रेलियाका बलर गेरी गिल्मर दोस्रो एकदिवसीय क्रिकेट खेल्दै थिए ।

उनले सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध १४ रन खर्चिएर ६ विकेट लिएर सनसनी मच्चाएका थिए । फाइनलमा पनि उनले वेस्टइण्डिजविरुद्ध ४८ रन खर्चिदैं ५ विकेट हात पारे । उनको धारिलो बलिङले वेस्टइण्डिज २९१ रनमा समेटियो । ६० ओभरमा खेलमा २९२ रनको लक्ष्य लिएर मैदान आएको अस्ट्रेलिया ५८.४ ओभरमा अलआउट भयो । त्यसपछि पहिलो विश्वकप नै वेस्टइण्डिजले आफ्नो पक्षमा पार्न सफल भयो ।

६. वेस्ट इण्डिज भर्सेस क्यानडा २००३

श्रीलंकाविरुद्ध आफ्नो पहिलो विश्वकपमा जम्मा ३६ रनमा अल आउट भएको क्यानडाको टिमले वेस्टइण्डिज विरुद्ध २०२ रन बनयो । जन डेविसनले १११ रनको शतकीय पारि खेले । तर वेस्टइण्डिजले उक्त लक्ष्य २०.३ ओभरमा पूरा गरेको थियो । जसका कारण जन डेविसनको शतक खेर गएको थियो ।

७. अस्ट्रेलिया भर्सेस न्यूजील्याण्ड ( २००३)

विश्वकप २००३ को सुपर सिक्सको पाँचौ खेलमा अस्ट्रेलिया र न्यूजील्याण्ड खेलेका थिए । पहिले व्याटिङ गर्दै अस्ट्रेलियाले २०८ रन बनायो ।

न्यूजील्याण्डका शेन बन्डले १० ओभरमा २३ रन दिएर ६ विकेट लिए । साथै उनले २ ओभर मेडन पनि राख्न सफल भएका थिए । २०९ रनको लक्ष्य पछ्याएका न्यूजील्याण्ड ३०.१ ओभरमा ११२ रन बनाएर समेटियो । न्यूजील्याण्ड पराजित भएसँगै शेन बन्डको ६ विकेटको काम लागेन । तर उनले म्यान अफ दी म्याचको अवार्ड भने हात पारे ।

८. पाकिस्तान भर्सेस न्यूजील्याण्ड (१९९२)

विश्वकप १९९२ को पहिलो सेमिफाइनलमा न्यूजील्याण्ड र पाकिस्तान खेलेका थिए । पहिला ब्याटिङ गर्दै न्यूजिल्याण्डले २६३ रन बनाएको थियो ।

कप्तान मार्टिन क्रोले ९१ रनको शानदार पारि खेले । तर उक्त लक्ष्य पाकिस्तानले ४९ औं ओभरमा पूरा गरेको थियो । उक्त विश्वकप पाकिस्तानले जितेको थियो । त्यतिबेलाका कप्तान इमरान खान अहिले पाकिस्तानको प्रधानमन्त्री छन् ।

पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने मार्टिन क्रोको टिम सेमिफाइनलमा पराजित भएपनि उनले म्यान अफ द सिरिजको उपाधि जितेका थिए ।

९. भारत भर्सेस दक्षिण अफ्रिका

विश्वकप २०११ के २९ औं खेलमा दक्षिण अफ्रिका र भारत भिडेका थिए । नागपुरमा भएको खेलमा भारतले पहिला ब्याटिङ गर्दै २९६ रन बनायो । 

सचिन तेन्दुलकरले १११ रन बनाउँदा विरेन्द्र सहवागले ७३ र गौतम गम्भीरले ६९ रनको योगदान गरेका थिए । सचिनले त्यतिबेला बनाएको शतक करियरको ९९ औं शतक पनि थियो । तर दक्षिण अफ्रिकाले २९७ रनको लक्ष्य ४९.४ ओभरमा पूरा गरेको थियो । समूह चरणमा दक्षिण अफ्रिकासँग हारेको भारतले पछि फाइनलमा श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो ।

१०. भारत भर्सेस श्रीलंका (२०११)

विश्वकप २०११ को फाइनलमा भारत र श्रीलंका भिडेका थिए । पहिला ब्याटिङ गर्दै श्रीलंकाले २७४ रन बनयो । महेला जयबर्धनेले १०३ रनको शानदार पारि खेले ।

तर भारका लागि गौतम गम्भीर ९७ तथा महेन्द्रसिंह धोनीले ९१ रन बनाएपछि भारतले विश्वकपको उपाधि नै जित्न सफल भयो । जसले गर्दा श्रीलंकाका जयबर्धनेको शतक खेर गयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया