पीएम कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीकाे विजयी सुरुवात

 जेठ १०, २०७६ शुक्रबार १६:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर दुई ३१.४ ओभरमा जम्मा १०७ रनमा समेटिएको थियो । आर्मीलाई जिताउन शहाव आलमले ४ तथा र सुशन भारीले ३ विकेट लिएका थिए । यसैगरी जितेन्द्र मुखियाले  २ तथा कुशल मल्लले एक विकेट लिएपछि प्रदेश २ को पारी समेटिएको थियो । प्रदेश २ का लागि हरि शंकर साहले सर्वाधिक २१ रन बनाउँदा समसद शेख  १६ तथा सुधिर चौधरी १५ रनमा आउट भए । 

टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले सर्वाधिक ९० रन बनाए ।

ओपनिङमा आएका राजु र कप्तान बिनोद भण्डारीले १२१ रनको साझेदारी गर्दै टिमलाई बलियो सुरुवात दिलाएका थिए । राजुले ९० रन बनाउँदा ५ चौका र २ छक्का प्रहार गरे । यसैगरी भण्डारीले ९ चौकाको मद्दतले ६६ रन बनाए ।

रोहितकुमार पौडेलले ४७ रन बनाउँदा हरिबहादुर चौहानले २६ रनको योगदान गरेका थिए ।  सुशन भारी १२ रनमा नट आउट हुँदा करन केसी ११ रनमा पेभेलियन फर्किए ।

प्रदेश २ का हरिशंकर साहले तीन विकेट लिए । १० ओभरको स्पेल पूरा गरेका साहले १ ओभर मेडन राख्दै ५५ रन खर्चिएका थिए । रसिद खान, विवेक यादव, समसद शेख र विशाल सुस्लिङले एक-एक विकेट लिए ।

७ प्रदेश र ३ विभागीय गरी १० टिमको सहभागीता रहेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले गर्नु भएकाे थियाे ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया