कान्तिपुर हाफ म्याराथन : ह्वील चेयरतर्फ रामबहादुर र यमी पहिलो

 जेठ ११, २०७६ शनिबार ८:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कान्तिपुर हाफ म्याराथनअन्तर्गत ह्वील चेयर दौडमा रामबहादुर तामाङ विजयी भएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको यस इभेन्टमा प्रेम बहादुर विक दोस्रो हुँदा मोहनबहादुर बस्नेत तेस्रो स्थानमा आए । ह्वील चेयर दौडअन्तर्गत महिला तर्फ यमी झाक्री मगर पहिलो हुँदा रजनी राई दोस्रो र बबिता थापा तेस्रो भइन् ।

ह्वील चेयर दौड तर्फका विजेताले क्रमश: २० हजार १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट सुरु भएर माइतीघर मण्डला हुँदै पुन: थापाथली आएर ह्वील चेयर दौड सकिएको थियाे ।

कर्पोरेट तथा मिडिया तर्फ ५ किलो मिटर दौडमा राजेश खड्का पहिलो भएका छन् । उनले १७ मिनेट २० दशमलव ०८ सेकेण्डमा दूरी पूरा गरेका थिए । यसैगरी १७ मिनेट ५५ दशमलव ९५ सेकेण्डका साथ अजय तामाङ दोस्रो हुँदा १८ मिनेट १२ दशमलव ४६ सेकेण्डका साथ  उत्तम श्रेष्ठ तेस्रो भए । 

कर्पोरेट तथा मिडिया अन्तर्गत महिला तर्फ काजल विष्टले २१ मिनेट २३ दशमलव ५ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भइन् । यसैगरी जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेण्डका साथ दोस्रो भइन् । तेस्रो स्थानमा आएकी सुनीता गौतमले २४ मिनेट ९ दशमलव ७ सेकेण्डका साथ तेस्रो भइन् । 

कर्पोरेट दौडतर्फ भने भ्रमण प्याकेज पुरस्कार व्यवस्था गरिएको छ । उपाधि विजेता (महिला र पुरुष) ले ३ रात ४ दिनको थाइल्यान्ड भ्रमण, दोस्रो हुनेले २ रात ३ दिनको पोखरा भ्रमण र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पुरस्कारस्वरुप पाउने छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया