ऐतिहासिक ‘श्रवण कुमार दह’ जाने १५ सय मिटर पदमार्ग तयार

 जेठ ११, २०७६ शनिबार ९:३:५८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको आँधीखोला गाँउपालिकामा पर्ने ऐतिहासिक श्रवण कुमार अन्धाअन्धी दहसम्म पुग्ने १५ सय मिटर पदमार्ग तयार भएको छ ।

पर्यटककीय एवं एतिहासिक धार्मिक क्षेत्रको रुपमा परिचित अन्धाअन्धी दह आँधीखोलाको मुहानसमेत हो । आँधीखोला गाँउपालिका वडा नम्बर २ को टापुबाट दहसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग तयार गरिएको गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो ।

अन्धाअन्धी श्रवणकुमार पर्यटन गुरु योजना कार्यान्वयन कार्यक्रमको २० लाख रुपैयाँ, नेपाल पर्यटन बोर्डको ५ लाख रुपैयाँ र आँधीखोला गाँउपालिकाको १० लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँको लागतमा १५ सय मिटरको व्यवस्थित पदमार्ग निमार्ण भएको हो ।

त्यस्तै गण्डकी प्रदेश सरकारले ४ सय मिटर पदमार्ग निर्माण गर्न सुरु गरिसकेको आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले पदमार्ग निर्माणपश्चात आँधीखोला गाँउपालिकामा आर्थिक क्रियाकलाप वढ्ने जानकारी दिनुभयो । ऐतिहासिक एवं पर्यटकीय क्षेत्र भएकाले समग्र स्याङजाकै आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष पौडेलको विश्वास छ ।

बाटो व्यवस्थित नहुँदासमेत पर्यटकको चाप हुने गरेको बताउँदै गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बाटोे निर्माणपछि पर्यटक निक्कै वढ्ने दाबी गर्नुभयो ।

श्रवण कुमारले आफ्ना अन्धा बुवाआमालाई बोकेर हिँडेका र त्यस क्षेत्रमा आइपुग्दा पानीको प्यास लागेपछि पानी खोज्ने क्रममा राजा दशरथको वाणबाट छोरा श्रवणकुमारको ज्यान गए पछिअन्धा बुवाआमा रुँदारुँदै आँधीखोला बनेको विश्वास गरिन्छ । चर्चित आँधीखोलाको मुहान नै अन्धाअन्धी दह हो ।

अन्तिम अपडेट: चैत ७, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया