वर्षाका कारण खोटाङका अधिकांश सडक ठप्प

 असार १९, २०७५ मंगलबार १७:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – वर्षाका कारण खोटाङका अधिकांश सडक ठप्प भएका छन् । 

हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण ठप्प भएको हो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमी लगायतका शाखा सडक ठप्प भएको हो । 

सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । दिक्तेललाई केपीलासगढी र ऐसेलुखर्क गाउँपालिकासँग जोड्ने दिक्तेल–ऐसेलुखर्क सडक पनि ठप्प भएको यातायात व्यवसायीको भनाई छ । सडकमा हिलो जमेपछि र कतिपय ठाउँमा पहिरो खस्दा दक्षिणी क्षेत्रका खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कुनै पनि सडक चल्न सकेको छैन । 

हाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम तथा दिक्तेल–बुइपा र दिक्तेल–जालपा फेदी सडक मात्र सञ्चालनमा रहेको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । 

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक स्तरोन्नतीका कारण सञ्चालनमा रहेकाले हाल दिक्तेलबाट काठ्माण्डौं तथा दिक्तेलबाट उदयपुरको कटारी, धरान र विराटनगरसम्मको यातायात सेवा भने हालसम्म रोकिएको छैन ।

केपीलासगढी र ऐसेलुखर्क जानेक्रममा अहिले दिक्तेलबाट जालपा फेदीसम्म मात्र पुग्न सकिन्छ । दिक्तेलबाट फोक्सिङटार जानेक्रममा हाल बुइपासम्म मात्र पुग्न सकिने महासचिव हिङमाङले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया