थाइल्याण्डमा बसेर मानव बेचबिखन तथा कराेडाैँ ठगी गर्ने पक्राउ

 जेठ ११, २०७६ शनिबार १७:१:२४ | उज्यालो सहकर्मी

काठमाण्डाै – विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाइ करोडौँ ठगी गरेको तथा मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका परशुराम गुरुङलाई सार्वजनिक गरेको हो । गुरुङलाई थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको हो ।

थाइल्याण्डको नेपाली राजदूतावासलगायत सम्बन्धित निकाय र थाइ प्रहरीको समन्वयमा उनलाई गएको चैत १३ गते थाइल्याण्डमा पक्राउ गरिएको थियो । आवश्यक प्रक्रिया पश्चात् शुक्रबार नेपाल ल्याइएको हो । 

लामो समयदेखि थाइल्याण्ड बसोबास गर्दै आएका गुरुङले सक्कली पहिचान लुकाएर सामाजिक सञ्जालबाट पनि ठग्ने गरेको खुल्न आएको छ । उनले सामाजिक सञ्जालमार्फत र वैदेशिक रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट १३ करोड रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिकालगायतका देश पुर्‍याइदिने र ती देशमा आकर्षक तलब सुविधामा काम लगाइदिने प्रलोभन देखाएर उनले प्रतिव्यक्ति पाँच लाखदेखि २० लाख रुपैयाँसम्म लिएका थिए । उनी कमल, पारस, मनोज, किम, अधिराज थापामगर, प्रतापलगायतका नामले चिनिँदै आएका थिए ।

 

उनले विकसित देशहरुमा रोजगारीको अवसर मिलाइदिन्छु भन्दै भिजिट भिषामा थाइल्याण्डको बैंककसम्म पुर्‍याउने, बैंककमा पुगेपछि कोठामा बन्धक बनाउने, बाहिर निस्कन नदिने, बाहिर निस्किए थाइ प्रहरीले गोली हान्छ भनी डर देखाउने, धम्की दिने अलपत्र पारेर छाड्ने गरेका थिए ।

अभियुक्त गुरुङविरुद्ध ठगी शीर्षकमा ८५ वटा निवेदनहरु प्राप्त भैसकेको तथा २ सय जनाभन्दा बढी पीडितहरु सम्पर्कमा आइसकेको र थप अनुसन्धानको काम अघि बढाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।  

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • बिनोद कटुवाल

    May 25, 2019, 6:06 p.m.

    यो डाकाले म लगायत अरु चार जनाको गरि ७२ लाख थगेर थाइल्यान्ड बाट फरार भएको हो।कुदि रहेको फोटो र बसेको फोटो मैले नै खिचेर cib मा बुझएको हो।पत्रकार meet मा आउन स्केनौ तर यसलाइ कडा कारबाही हुनु पर्छ।९८५२०३८८४९ दुबई मा काम गरि रहेका हामी दुई लाई बोलाएर उता लागि पैसा लिएर फरार भको हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया