१० जोड १ को संघीय प्रणाली नै देशको आवश्यकता : डाक्टर भट्टराई

 जेठ १२, २०७६ आइतबार १९:१४:२२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामूलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको दाबी गरेका छन् ।

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपाल एकीकरण पश्चात समाजवादी पार्टीले पहिलोपटक जनकपुरमा आइतबार आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले यस्तो बताएका हुन् ।

पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबु राम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही अर्थमा राष्ट्रिय एकता कायम गर्ने दाबी गर्नुभयो । उहाँले हालको संविधानले राष्ट्रको सार्वभौ सत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभएसम्म वास्तविक संघीयता आउन नसक्ने उल्लेख गर्नुभयो । पहिलो संविधान सभाको क्रममा तत्कालीन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १ को संघीय प्रणाली नै देशको आवश्यकता रहेको जिकीरसमेत गर्नु भयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका डा. भट्टराईले देशलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार नगरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले राज्यको स्रोत साधनमा भागिदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिलालगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको बराबरको अधिकार नभएसम्म देशमा आन्दोलन जारी रहने उद्घोष गर्दै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने उल्लेख गर्नुभयो । नेपाली नागरिक स्वायत्ततासहितको अधिकार सम्पन्न संघीयता खोजी रहेको बेला  शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको  उल्लेख गर्नु हुँदै उहाँले त्य विरुद्ध सचेत रहन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो ।

समाजवादी पार्टीको एकताले विचलित भएका परम्परागत शासकहरु विभिन्न खाले अफवाहहरु फैलाई रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यस्ता खाले अफवाहमा नफसी पार्टीको मार्ग सिद्धान्तमा अघि बढन कार्यकर्ताहरुलाई आग्र समेत गर्नुभयो ।

देशमा रहेको तीन वटा क्लस्टर  मधेशी –थारु, आदिवासी –जनजाति र खस–आर्यलाई समान अधिकार दिएर अघि बढने एक मात्र पार्टी समाजवादी पार्टी रहेको दाबी गर्नु हुँदै उहाँले अन्य पार्टीहरु एकल जातीय र क्षेत्रीय मात्र रहेको टिप्पणी समेत गर्नु भयो ।

कार्यक्रममा वरिष्ठ नेता अशोक राईले नागरिकको निर्देशनलाई आत्मसात गर्दै देशलाई दह्रो विकल्प दिन अहिलेको एकता भएको स्पष्ट पार्नुभयो । उहाँले देशलाई समतामूलक नेतृत्व दिन समाजवादी पार्टी विचार मिल्नेहरु संगको एकता प्रक्रियालाई अझै निरन्तरता दिने उल्लेख गर्नु भयो ।

समृद्धिको अखण्ड किर्तनले मात्र देश समृद्ध नहुने जिकीर गर्नु हुँदै वरिष्ठ नेता राईले समृद्धिको लागि शान्ति, मेलमिलाप, विभेदरहित समाजको निर्माण, समान अधिकार, समावेशिता आदि इत्यादि आवश्यक भएको हुँदा संविधानको संशोधन एक मात्र विकल्प रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दुई पार्टी बीचको एकताले एउटा राष्ट्रिय अभिभारा पूरा गरेको उल्लेख गर्नु हुँदै समाजवादी पार्टीले अगामी दिनमा देशकै  नेतृत्व लिने दाबी गर्नुभयो । मुख्यमन्त्री राउतले पार्टीको समावेशी संरचना, पार्टीले लिएको सिद्धान्तबारे गाँउगाँउमा पुर्‍याउनु पर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया