बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुन्छ भनेर विप्लवले नसोचे हुन्छ : अध्यक्ष प्रचण्ड

 जेठ १३, २०७६ सोमबार १५:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताउनुभएको छ । 

अध्यक्ष दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने नसोच्न पनि चन्द नेतृत्वको नेकपालाई चेतावनी दिनुभयो । सोमबार विराटनगर विमानस्थलमा श्रृखंलाबद्ध बम विस्फाेटको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रको आवश्यकता र जनताको चाहना पनि बम पड्काउने नभएकाले चन्द नेतृत्वको नेकपा सरकारसँग वार्तामा आउनुको विकल्प नरहेको उहाँले तर्क गर्नुभयो । अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउँदै समाजवादको यात्रा तय गर्ने बाटोमा मिलेर काम गर्न पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गर्नुभयो । 

‘हामी सबै मिलेर विकास, निर्माण र समृद्धिको कामलाई तीव्रता दिएर मुलुकलाई समाजवादतर्फ अघि बढाउन जरुरी छ,’ अध्यक्ष दाहालले भन्नुभयो । 

अध्यक्ष दाहालले संसदमा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक आवश्यक परिमार्जनसहित पारित हुने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय एकता र समृद्धिमा केन्द्रित भएर कलम चलाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया