आपराधिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौँ : गृहमन्त्री थापा

 जेठ १३, २०७६ सोमबार १५:२४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लव समूहसँग सम्बन्धित व्यक्ति  भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे उहाँले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, 'ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो । ती जनता होइनन् । ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो । दुई ठाउँकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटि भएका कारणले गर्दा ज्यान गएको अहिलेसम्मका अनुसन्धानले पुष्टि भएको छ । गैह्रकानुनी र आपराधिक क्रियाकलापसँग सम्बन्धित नै ती व्यक्तिहरु थिए ।  त्यसकारले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौँ। उनीहरु घटनासँग सम्बन्धित् व्यक्ति नै हुन् ती सामान्य नागरिक होइनन् । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।'

विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्नलाई उहाँले 'नाजायज प्रश्न' को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, 'सरकार र विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नाजायज प्रश्न हुन्छन् । प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।'

उहाँले शान्तिपूर्ण रुपमा समस्या समाधान गर्नुपर्न भन्नेमा सरकार स्पष्ट रहेको भन्दै कानुन र संविधान मिच्ने, जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक हुने भएकाले त्यस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो । कानुन मिचेकाले नियन्त्रणमा लिने प्रयास संगै वार्ता संवादमार्फत गतिविधिलाई नियन्त्रणमा ल्याई मूल प्रवाहमा ल्याउने प्रयास सरकारले गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले देशमा शान्ति सुरक्षा कायम गर्नमा नै मूलभूत रुपमा सरकार सफल रहेको दाबी गर्नुभयो । सरकार गठन गर्नु अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको निष्कर्ष सरकारले निकालेको उहाँको भनाइ थियो ।

उहाँले पाँचथर घटनाको अनुसन्धान जारी नै रहेको भन्दै अपराधी छिट्टै नै कानुनको कठघरामा आउने बताउनुभयो । उहाँले दार्चुला घटनाका घाइतेलाई सरकारले उपचारको व्यवस्था गरि राहतको प्रक्रिया अघि बढाउने स्पष्ट पार्नुभयो । उहाँले गिरीशचन्द्र लालको प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक गरिने बताउनुभयो ।

गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाउनुभएको थियो । उहाँले भन्नुभयो, 'घुमाएर नबोलौँ, हिजोको घटनामा कुन पार्टीको कुन माननीयको संलग्नता छ । त्यो प्रष्ट रुपमा आउनु पर्छ । हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ? हिजो पनि द्वन्द्व कालमा जति मरे/मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैह्रजिम्मेवारीपूर्वक शब्द प्रयोग गर्न हुन्न । गर्न पाइन्न । त्यसकारण साँठगाँठ र नाजायज शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।'

लगत्तै सभामुख कृष्णबहादुर महराले त्यसबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारबाही अघि बढेको थियो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • dhama paudyal

    May 27, 2019, 9:24 p.m.

    त्यसो भए तिमी प्रचन्ड "१७,००० वाला" लाई के भन्छौ ? अनि हामिले तिमीहरुलाई के भन्ने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया