पीएम कप : पारसकाे कप्तानीमा रहेकाे प्रदेश ३ काे पहिलाे जित

 जेठ १३, २०७६ सोमबार १५:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा प्रदेश तीनले प्रदेश ५ लाई ६ विकेटले हरायो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश पाँच ४२ ओभरमा १२२ रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुविन्धु पाण्डेले सर्वाधिक २२ रन बनाए भने सुरज दरालले १८ रनको योगदान गरे ।

यस्तै सन्दीप सुनारले १४ तथा सौरभ खनालले १३ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । प्रदेश ५ लाई कम स्कोरमा रोक्न कप्तान पारस खड्काले चार विकेट लिए । यस्तै नन्दन यादवले दुई विकेट हात पारे ।

जवाफमा प्रदेश तीनले २१ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । बलियो सुरुवात गरेको प्रदेश तीनले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेको थियो । उसका ओपनर रित गौतम ३७ रनमा आउट भए ।

त्यसपछि रविन जोशी व्यक्तिगत ३५ रनमा पेभेलियन फर्किदा प्रदेश तीनले ८७ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै पारस खड्का एक रनमा र अनिल बस्नेत दुई रनमा आउट हुँदा प्रदेश तीनले १०२ रनमा चार विकेट गुमायो । प्रदेश तीनले आज पहिलो खेलमा शतक प्रहार गरेका ज्ञानेन्द्र मल्ललाई आराम दिएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया