घरकाे जगै नहाली किर्ते गरी दाेस्राे किस्ताकाे पैसा लिने 'भूकम्प पीडित' पक्राउ

 जेठ १३, २०७६ सोमबार १९:६:४ | किरण लोहनी
unn.prixa.net

गोरखा – सिरानचोक गाउँपालिका-७ श्रीनाथकोटका ३० वर्षीय भूकम्प पीडित विष्णु घिमिरेले पुनर्निर्माणमा खटिएका प्राविधिकसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरेर अनुदान रकम बुझेको खुलासा भएको छ । 

वडाध्यक्ष र वडामा खटिएका प्राविधिकको किर्ते हस्ताक्षर गरेर दोस्रो किस्ताको अनुदान रकम झिक्ने ती भूकम्प पीडित लाभग्राहीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

चितवन बस्दै आएका उनको नाम भूकम्प पीडित लाभग्राही सूचीमा छ । घर निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेर पनि उनले घर बनाएका थिएनन् । पहिलो किस्ताको ५० हजार रुपैयाँले डीपीसीसम्मको काम सकेपछि प्राविधिकको सिफारिसमा मात्रै दोस्रो किस्ताको रकम पाउने प्रावधान छ । 

घिमिरेले वडाध्यक्ष सुरज ढकाल र वडामा खटिएका प्राविधिक प्रकाश तिमिल्सिनाको नक्कली हस्ताक्षर गरी दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँ निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।  

‘उनलाई नक्कली कागजात खडा गर्न भने भीमसेन थापा गाउँपालिका तान्द्राङमा खटिएका सव इन्जिनियर बलराम घिमिरेले सहयोग गरेको खुलेको छ,’ नेपालले भन्नुभयो, ‘एउटा क्षेत्रको प्राविधिकले अर्कै वडामा खटिएका प्राविधिकले भर्नुपर्ने फाराम भरिदिएको र नक्कली हस्ताक्षर समेत गरिदिएको देखिन्छ ।’ 

सब इन्जिनियर घिमिरे प्राविधिक हक हित संघर्ष समितिका जिल्ला अध्यक्ष पनि हुन् । उनी हाल फरार छन् । दोस्रो किस्ताको अनुदान सिफारिस पूर्व प्राविधिकले प्रथम निरीक्षण फाराम र अनुसूची १४ अन्तर्गतको दुई वटा फाराम भर्नुपर्छ । त्यसपछि घर निर्माणको निरीक्षण गरेका प्राविधिक र वडाध्यक्षले हस्ताक्षर गरेपछि अनुदान प्राप्तिको थप प्रक्रिया अघि बढ्ने प्रावधान छ । 

तान्द्राङमा खटिएका प्राविधिक बलराम घिमिरेले बन्दै नबनेको घरको निरीक्षण फाराम र अनुसूची भर्न सहयोग गरेको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । प्राविधिक घिमिरेले नै श्रीनाथकोटमा खटिएका इन्जिनियर प्रकाश तिमिल्सिना र वडाध्यक्षको नक्कली हस्ताक्षर गरेको पक्राउ परेका भूकम्पीडित घिमिरेले बयान दिएका छन् ।  

घर बनाउन सुरु नै नगरेका व्यक्तिले दोस्रो किस्ताको रकम बुझिसकेको थाहा पाएपछि आफू आश्चर्यमा परेको वडाध्यक्ष सुरज ढकालले बताउनुभयो । आफ्नो हस्ताक्षर किर्ते गरेको पाइएपछि इन्जिनियर प्रकाश तिमिल्सिनाले भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइमा जानकारी गराउनुभएको थियो । 

‘हामीकहाँ त सबै फाइल दुरुस्त आयो, हामीले अनुदानका लागि प्रक्रिया अघि बढायौं’ इकाइका इन्जिनियर युवक श्रेष्ठले भन्नुभयो, ‘श्रीनाथकोटमै खटिएका इन्जिनियरले आफूले किस्ता सिफारिस नै नगरेको बताएपछि नक्कली काम भएको थाहा भयो ।’ भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख सुनीता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै छानबिन गरी कारबाही गर्न आग्रह गर्नुभएको थियो । 

अनुसन्धानका क्रममा लााभग्राहीसँगै अर्कै वडामा खटिएका प्राविधिकको पनि संलग्नता रहेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

लाभग्राही विष्णु घिमिरेलाई फौजदारी अपराध संहिता ऐन २०७४ अनुसार लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । फरार रहेका सब इन्जिनियर घिमिरेको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया