भारतको राष्ट्रवाद नेपालका लागि खतरा छ !

 जेठ १४, २०७६ मंगलबार १२:३७:५१ | लोकराज बराल
unn.prixa.net

भारतमा नरेन्द्र मोदीको फेरि उदय भएको छ । हिन्दू धर्म र राष्ट्रवादकै नारामाथि टेकेर मोदीले फेरि चुनाव जितेका हुन् । विपक्षी कांग्रेस र अरु दलमा पनि यति उचाई भएको  व्यक्ति नभएर मोदीले फेरि बहुमत पाएका हुन् । 

मोदीले चुनाव जित्दै गर्दा दुई वटा प्रश्न मुख्यगरी उठेका छन् । पहिलो नेपालप्रति मोदीको हेराई फेरिएला ? दोस्रो, प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन बुझ्लान् कि नबुझ्लान् ? नेपालप्रति भारतको नजर कहिल्यै फेरिंदैन । अर्थात भारतमा जो सत्तामा आए पनि छिमेकी देशलाई गर्ने व्यवहार एउटै हो ।

दक्षिण एसियामा ठूलो देश भएकाले अरुलाई आफूले भनेको मान्ने बनाउनु भारतको स्वार्थ हो ।नेताहरुकाअनुसार भारतको परराष्ट्रनीति बदलिंदैन । विगतदेखि जुन नीति छ, त्यसैको कार्यान्वयन हो ।

अब मोदीले प्रबुद्ध व्यक्ति समूह, ईपीजीको प्रतिवेदन बुझ्लान ? भन्ने प्रश्न छ । विगतमा चुनाव आएकै कारणले मोदीले यो प्रतिवेदन नबुझेका हुन भन्ने चर्चा छ । तर कम्तीमा १० मिनेट समय दिएर यो प्रतिवेदन मोदीले बुझ्नुपर्थ्यो ।

तर उनले बुझ्न मानेका छैनन् । ईपीजीको प्रतिवेदनमा भारतको ‘रिजर्बेशन’ छ । प्रतिवेदनभित्रका कतिपय कुरा उसलाई चित्त बुझेको छैन । भारतीय राजनीतिक नेतृत्व भन्दा पनि कर्मचारी, सुरक्षा प्रशासनले नै यो प्रतिवेदन नबुझ्न दबाब दिएको देखिन्छ ।

ईपीजी प्रतिवेदनमा खुल्ला सीमा, विगतका असमान सन्धी सम्झौता छन् । त्यसैले भारतले यो प्रतिवेदन बुझ्न जतिसक्दो धेरै आलटाल गर्नु, थन्क्याउनु यो उसको हितमा नहुनु हो । फेरि अर्को सत्य के हो भने भारतले अर्थात फेरि चुनाव जितेपछि मोदीले यो प्रतिवेदन बुझ्दैमा नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्छ भनेर भन्न पनि सकिंदैन ।

सन् १९५० को सम्बन्ध असमान छ भनेर भारतले खारेज नै गरिदियो भने पनि केही हुनेवाला छैन । किनभने यसमा हाम्रै गल्ती छ । असमान सन्धी खारेज गर भन्ने तर सम्पूर्ण उसँगको निर्भरता तोड्न नसक्ने ?

यसले गर्दा पनि हामीले भारतमा जो सत्तामा आए पनि खासै फरक व्यवहार, नयाँ नीतिको अंगिकार, दुवै देशको हितमा हुने काम भन्ने मात्रै हो । व्यवहारमा त्यो देखिन गाह्रो छ । बरु पछिल्लो समय शान्त छ । नभए नेपाल–भारत सम्बन्धका विषयमा जहिल्यै विवाद भयो । आन्दोलन भयो । भारतलाई साम्राज्यवाद, बिस्तारवाद भन्दै सडकदेखि सदनसम्म नाराबाजी भयो ।

यसमा कतिपय भारतले गरेका कामले पनि भूमिका खेलेको छ । तराईमा भारतसँग सीमा जोडिएका सबै नाकामा विवाद छ । यो उसको कारण हो । मधेसमा ठूलो आन्दोलन चल्यो । यो पनि भारतकै कारण हो । यसमा भारतको सहानुभूति छ ।

संविधान संशोधन नभएको झोंकमा तराई तथा मधेसको आन्दोलनमा जुन गल्ती भारतले गरेको छ, यो ठूलो समस्या थियो । आफूले भनेको नमान्ने भनेर नाकाबन्दीसम्म लगाउने मोदीको निर्णयले नेपाली पनि झस्के ।

यो गल्ती थियो भनेर मोदीले लगत्तै नेपाल भ्रमण गर्ने साहस गर्नु भनेको ‘कोर्स करेक्सन’ हो । अब पहिलेको जस्तो स साना कुरामा हस्तक्षेप हुन्छ जस्तो मलाई लाग्दैन । उनीहरुको ‘रिजर्बेशन’ छ । 

अब चुनाव सकियो मोदीले प्रतिवेदन बुझेर नेपाल भारतबीचका सन्धी, सम्झौता कार्यान्वयन गरिहाल्छन् भनेर भन्न सकिंदैन । यसमा समय लाग्न सक्छ । प्रतिवेदनलाई परिमार्जन गर्नुपर्छ पनि भन्न सक्छन् ।

अर्को बुझ्नैपर्ने कुरा के हो भने मोदीले ईपीजीको प्रतिवेदन बुझ्दैमा, लागू गर्दैमा नेपाललाई असर पर्ने देखिंदैन । प्रतिवेदनमा सन्धी सम्झौता फेर्ने भन्ने छैन । केही स–साना कुरामा सुधार गर्ने मात्रै उल्लेख छ जस्तो मलाई लाग्छ । सीमालाई व्यवस्थित गर्ने मात्रै छ ।

अर्को भारतमा फेरि मोदीको उदय हुनु भनेको नेपालमा हिन्दू राष्ट्रको मुद्दा बोक्नेका लागि खुशी र उत्साहको कुरा हो । यसबाट राजावादी पनि उत्साहित छन् । नेपाल हिन्दू राष्ट्र हुनुपर्छ, राजतन्त्र फेरि फर्काउनुपर्छ भन्नेहरु उफ्रिए पनि अरुलाई त के मतलब ?

भारतमा मोदी आए पनि राहुल गान्धी आए पनि नेपाली नागरिकलाई केही असर पर्नेवाला छैन । तर विश्वव्यापी रुपमै जुन राष्ट्रवादको कुरा उठेको छ, भारतमा जुन राष्ट्रवादको नारा फेरि उचालिएको छ । यो नेपालका लागि खतरा हुन सक्छ ।

अखण्ड भारतको कुरा आयो भने नेपाललाई धेरै खतरा हुन सक्छ । किनभने नेपाल, भुटान, बंगलादेश, पाकिस्तान भनेको एउटै हो । कुन न कुनै रुपमा यसमा भारतको हस्तक्षेप छ । भौगोलिक रुपमा भारतको हिस्सा देखिन्छ ।

मोदीको भारतीय जनता पार्टी भाजपाको सुरुवाति मुद्दा भनेकै अखण्ड राष्ट्रवाद हो । यो जाग्यो भने नेपालले नसोचेको समस्या व्यहोर्नुपर्ने हुन सक्छ । फेरि राजा ल्याउनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका मुद्दा ब्युँतिन सक्छन् ।

आखिर नेपाल भनेको हिन्दू राष्ट्र नै हो व्यवहारमा । संविधानमा एउटा ‘धर्म निरपेक्ष’ शब्द मात्रै थपिएको त हो नि । संविधानमा शब्द थप्दैमा नेपालमा चमत्कार हुँदैन ।

त्यसैले यस्ता केही उडन्ते कुरामा लाग्छौँ । यसले विकास हुन सक्दैन । विकासका लागि भारतसँगै सम्बन्ध राम्रो हुनुपर्छ भन्ने होइन । हाम्रो शिक्षा, स्वास्थ्यको विकास हुनुपर्छ । बाटो बनाउनुपर्छ । पर्यटक भित्र्याउनुपर्छ ।

हामीले देशभित्रै हाम्रा फाइदाका लागि काम गर्नुपर्छ । हिजो मोदीले नाकाबन्दी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा भो । देशलाई के भो त ? त्यसैले राजनीतिक र कुटनैतिक सम्बन्ध आफ्नो ठाउँमा छ । तर नेताहरु आवश्यकता के हो ? भन्ने कुरामा केन्द्रित हुन जरुरी छ ।

खाली छिमेकी देशमा को आउँछ ? त्यसबाट कति सहयोग पाइन्छ ? भन्ने हिसाबकिताबले नेपाललाई फाइदा हुन सक्दैन । अहिले पनि भारतबाटै तरकारी आउँछ । कपडा भारतबाटै आउँछ । सबै आयात छ । निर्यात पटक्कै छैन ।

देशमा आर्थिक विकास भएको छैन । आर्थिक, सामाजिक अवस्था पटक्कै सुधार भएको छैन । सरकार आफ्ना काममा सक्षम छ कि छैन ? राजनीतिक सुधार मुख्य कुरा हो । त्यसैले पहिला आफ्नो देशको विकास गर्ने कि भारतसँगका असमान सन्धी खारेज गर्नुपर्छ भन्दै चिच्याउने मात्र ? यो नेपाली नागरिक र नेताहरुमा निर्भर छ ।

(परराष्ट्रविद् बरालसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)

  

अन्तिम अपडेट: असार २६, २०७६

लोकराज बराल

बराल परराष्ट्रविद् हुनुहुन्छ ।

1 Comments

  • मिलन सुनार

    May 28, 2019, 6:13 p.m.

    भारत सङ्ग मित्रवत हैन, नाकावन्दी ताकाको सम्बन्ध स्थापित गरेर अगाडि बढ्नु पर्छ। राज्य स्तर बाट नै यस्को सुरुवात हुनु पर्छ। भारत सङ्गको परनिर्भर्ता नभै आत्मा निर्भरता को बाटो खोज्नु पर्छ। केही कश्ट अनि अप्ठ्यारा अवश्य आउलान, सायद सोछे भन्दा बढी । त्यस्को लागि पूरा तयार भयर जुध्नु पर्छ। यसरी हामी यदि हामी भारत भन्दा बिकशित हुन सकेउ भने । आत्म निर्भर बनेउ भने, भारत ले हाम्रो कुरा नसुने पनि आफ्नो कुरा लाद्न सक्दैन। देश लाई माय गर्ने नगरिक अनि हिट्लर जस्तो शाशक को खाचो छ। जस्ले आफ्नो देश लाई माया गरोस।

  •  0 Reply

तपाईको प्रतिक्रिया