छात्राहरुमा अनौठो रोग देखिएपछि विद्यालय बन्द

 जेठ १६, २०७६ बिहिबार १५:४२:० | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको निजगढ नगरपालिका-१०, लाल टोलमा रहेकोे एउटा सामुदायिक विद्यालयका छात्राहरुमा अनौठो रोग देखिएपछि विद्यालय बन्द गर्नुपरेको छ।

स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्राहरुमा अनौठो रोग देखिएका कारण जेठ १४ गतेदेखि २१ गतेसम्म बन्द गरिएको प्रधानाध्यापक हरिनारायण लाल कर्णले जानकारी गराउनु भयो।

छात्राहरुमा एकोहोरो भएर हेर्ने, जीउ चिसो हुने, घाँटी बटारेजस्तो हुने, छटपटिने, अन्य विद्यार्थी र शिक्षकहरुलाई मुख छोड्ने तथा कुटपिट गर्न खोज्ने जस्ता लक्षण देखिएको विद्यालयकी शिक्षिका जानुका अधिकारीले बताउनु भयो।

छात्राहरु हातखुट्टा र जीउ तन्काउँदै मुर्च्छा पर्ने गरे शिक्षिका अधिकारीले बताउनु भयो।

वैशाख १९ गतेदेखि विद्यार्थीहरुमा यो समस्या देखिन थालेको शिक्षिका अधिकारीले जानकारी गराउनु भयो । अहिलेसम्म १५ र १६ जना छात्राहरुमा यो समस्या देखिएको र झन् संख्या बढ्न थालेपछि अभिभावक र शिक्षकहरुको सल्लाहमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक कर्णले बताउनु भयो।

विद्यार्थीहरुमा समस्या देखिन थालेपछि जेठ ३ गते विद्यालय नजिकैको थानीमाई मन्दिरमा र जेठ ९ गते विद्यालयमा रुद्री पूजा लगाइएको थियो। जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयका प्रमुख अशोक रौनियारले विद्यालय खुलेपछि स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भएको जानकारी दिनुभयो।

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले विद्यालयको समस्याबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएर चिकित्सकको टोली ल्याउने प्रयास भइरहेको बताउनुभयो।

विद्यालयमा करिब साढे चार सय विद्यार्थी अध्यनरत छन् । पाँच वर्ष पहिला पनि विद्यार्थीहरुमा यस्तै समस्या देखिएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया