लाजका कारण अस्पताल जाँदैनन् पाठेघर खसेका डोटीका महिला

 जेठ १६, २०७६ बिहिबार १७:५६:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – समाजको लाजसँगै गरिबी र स्वास्थ्यसेवामा पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिलाहरु अझै पनि आफ्नो रोग लुकाएर बस्न बाध्य छन् ।

जिल्लामा पटक पटक पाठेघर खसेका महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि अधिकांश महिला उपचार नै नगराइ घरैमा बस्ने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर भुषण मिश्रले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले जिल्लामा कैयौँ पटक पाठेघर खसेका महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्‍यौँ तर हाम्रो लक्ष्य अनुसार उहाँहरु आउनु भएन । तर यो समाजको लाजको कारणले रहेछ ।’

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार, डोटीमा झण्डै तीन/चार दर्जन बढी पाठेघर खसेका महिलाहरु रहेका छन् । उनीहरु समाजमा हुने लाजका कारण खुलेर उपचार गराउन आउन सकिरहेका छैनन् । 

पाठेघर खसेको बारेमा श्रीमानलाई भन्दा अर्को विवाह गर्लान् कि भन्ने डरले अधिकांश महिलाले श्रीमानलाई यो रोगका बारेमा नभन्ने गरेको सामाजिक परिचारिका तथा जोरायल गाउँपालिका-५ गड्सेराकी तुलसी विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गाउँघरमा अधिकांश महिलामा पाठेघरको समस्या भएका पाएका छौँ, श्रीमानले अर्काे विवाह गर्लान् कि भन्ने डरले उनीहरुले श्रीमानलाई नभन्ने गरेको पाइयो । श्रीमानले सहयोग गरे महिलाहरु उपचार गराउन आउन सक्छन् ।’  

आफ्नो ज्यान नै जोखिममा राखेर महिलाहरुले रोग लुकाउने गरेको डाक्टर भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ज्यान जानबाट जोगाउन चाहनुहुन्छ भने श्रीमतीलाई उपचार गराउन ल्याउनुहोस् ।’ 


 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया