जङगली हात्तीले गाउँ नछाड्दा स्थानीयमा त्रास

 जेठ १७, २०७६ शुक्रबार १६:४०:२ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - जङगली हात्तीले गाउँ नछाड्दा सिन्धुली कमलाखुँज क्षेत्रको रानीबास र निपानेका बासिन्दा त्रासमा बाँचिरहेका छन् ।

दुई वर्षभन्दा बढी समयदेखि कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ रानीबास तथा दुधौली नगरपालिकाको वडा नं. १ निपानेका बासिन्दालाई तीन वटा जङगली हात्तीले दुःख  दिँदै आएको छ ।

रानीबासमा रहेकाे सिंंहदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजेश देवकोटा तीन वटै जङगली हात्ती दिनको समयमा जङगल पस्ने र साँझ परेपछि गाउँ छिरेर दुःख दिने गरेकाे बताउनुहुन्छ । हात्तीले यो वर्ष मात्रै गाँउमा १० भन्दा बढी घर भत्काइसकेको  र बालीनालीमा पनि धेरै क्षति गरेको छ ।

कमलामाई नगरपालिका वडा नं. १३ का अध्यक्ष किरण माझी हात्तीले गाउँमा ल्याएको खानेपानीको पाइप लाइनसमेत बिगारेर पटक पटक दुःख दिँदै आएको गुनासो गर्नुहुन्छ । हात्तीकै कारण गाउँघरमा कृषकहरु गाईवस्तुको लागि घाँस-दाउरा खोज्न जङगल जान नसकिरहेको पनि उहाँले बताउनुभयो ।

हात्ती पीडितलाई कमलामाई नगरपालिकाले राहत दिँदै आएको सुनिएको भए पनि वास्तविक पीडित कसैले नपाएको वडाध्यक्ष माझीको गुनासो छ ।

दुधौली नगरपालिका–३, निपानेमा पनि जङगली हात्तीको आक्रमणबाट जनजीवन आतङकित बन्दै आएको स्थानीय बासिन्दा बताउँछन् । रातको समय जङगलबाट निस्किने ती हात्तीले यो वर्ष मात्रै एक दर्जन घर भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याएको उक्त वडाध्यक्ष साने धामीले जानकारी दिनुभयो ।

‘हात्तीका कारण राम्रोसँग सुत्न समेत पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘बिहानीपख हात्ती जङगल पस्ने र रातको समयमा बस्तीमा आइर घर भत्काउनुका साथै अन्नबाली खाएर आतङकित पार्दै आएको छ ।’

हात्तीले विशेष गरी रातको समयमा दुःख दिने गरेकाले निद्रा माया मारेर रातभर जाग्राम बस्न बाध्य भएकोे स्थानीयहरुको भनाइ छ । हात्ती बस्तीमा आएपछि स्थानीयले थाल ठटाएर र धुनी बालेर धपाउने गरेका छन् ।

यता कमलामाई नगरपालिकाकाले गएकाे वर्ष मात्रै हात्ती पीडितलाई राहत दिएर करिब १० लाख रुपैयाँ खर्च भएको जनाएको छ । नगरपालिकाका मेयर खड्ग खत्री यो वर्ष पनि हात्ती पीडितलाई नै राहत दिएर आर्थिक सहायताको रकम सकिने अवस्था आएको बताउनुहुन्छ । हात्ती पीडितलाई चारदेखि पाँच हजार रुपैयाँसम्म राहत दिँदै आएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया