विश्वकप क्रिकेट : अष्ट्रेलियाको विजयी सुरुवात, अफगानिस्तान ७ विकेटले पराजित

 जेठ १९, २०७६ आइतबार ६:२१:५५ | एजेन्सी
unn.prixa.net

ओपनर डेभिड वार्नर र आरोन फिन्चले उत्कृष्ट पारी खेलेपछि अफगानिस्तानलाई ७ विकेटले पराजित गरी अष्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि रक्षा यात्राको सुरुवात गरेको छ । 

ब्रिस्टोलको काउन्टी मैदानमा अफगानिस्तानले दिएको २०८ रनको लक्ष्य अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । उसका लागि ओपनर वार्नरले ११४ बलमा ८९ रनको शानदार पारी खेले । अर्का ओपनर तथा कप्तान फिन्चले ४९ बलमा ६६ रनको योगदान गरे । 

बल टेम्परिङ प्रकरणपछि १ वर्षको प्रतिबन्ध ब्यहोरेर विश्वकप अघि अष्ट्रेलियाको टिममा पुनरागमन गरेका वार्नरले आफ्नो उत्कृष्ट लय पहिलो खेलदेखि नै प्रस्तुत गरेका छन् ।

वार्नरले पहिलो विकेटका लागि फिन्चसँग मिलेर ९६ रनको साझेदारी गरेका थिए । गुल्वादिन नइवको बलमा फिन्च आउट भएपछि आएका उस्मान ख्वाजासँग मिलेर अर्को ६० रनको साझेदारी गरे । 

ख्वाजा १५ रनको व्यक्तिगत स्कोरमा रशिद खानको एलबीडब्ल्यू धरापमा परेपछि आएका पूर्व कप्तान स्टिभ स्मिथसँग मिलेर ५१ रनको साझेदारी गरी वार्नरले अष्ट्रेलियालाई पहिलो खेलमा जितको नजिक पुर्‍याए ।

बल टेम्परिङमा स्मिथले पनि १ वर्षको प्रतिबन्ध व्यहोरेका थिए । जितका लागि ३ रन आवश्यक हुँदा स्मिथ मुजिव उर रहमालको बलमा १८ रन बनाएर आउट भए । त्यसपछि आएका म्याक्सवेलले पहिलो बलमै चौका प्रहार गरी टिमलाई जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा २०७ रनमा अलआउट भएको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रन बनाए । यस्तै रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रनको योगदान दिए । राशिद खानले ११ बलमा २७ रनको विष्फोटक पारी खेले ।

अष्ट्रेलियाका लागि एडम जाम्पा र प्याट कुमिन्सले समान ३–३ विकेट लिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया