बूढीगण्डकीको मुआब्जा निर्धारण गर्न गोरखा कांग्रेसको अल्टिमेटम

 जेठ १९, २०७६ आइतबार १८:४:२० | किरण लोहनी
unn.prixa.net

गोरखा - नेपाली कांग्रेस गोरखाले बूढीगण्डकी आयोजनाको बाँकी क्षेत्रको मुआब्जा जेठभित्रै तोक्न अल्टिमेटम दिएको छ ।

आयोजनाको डुबानमा पर्ने बजारक्षेत्रहरु गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे बजारको मुआब्जा निर्धारण हुन सकेको छैन । आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले जेठभित्र मुआब्जा रकम सार्वजनिक नगरिए प्रभावित क्षेत्रका बासिन्दासँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

‘हामीले यस विषयमा सबै जसो सरोकारवालाको ध्यानाकर्षण गराएका छौं,’ जिल्ला कार्यसमिति सचीव नन्दप्रसाद न्यौपानेले भन्नुभयो, ‘के कारण हालसम्म मुआब्जा निर्धारण हुन सकेन, त्यसबारे पनि बताइएको छैन, जुनसुकै कारणले रोकिएको भए पनि जेठभित्र सार्वजनिक गर्नुपर्छ भन्ने हाम्रो अल्टिमेटम हो ।’ 

बूढीगण्डकी आयोजनाको क्षमता घटाएर ८ सयमा झार्नेबारे छलफल चलिरहेको सुनेको भन्दै उहाँले आयोजनालाई १२ सय मेगावाटमै बनाउनुपर्ने बताउनुभयो । ‘आयोजनालाई यो वा त्यो बहानामा अल्मल्याउनु भनेको प्रभावित क्षेत्रका बासिन्दाले थप दुख पाउनु हो’, न्यौपानेले भन्नुभयो ।

बूढी गण्डकी आयोजनाको डुबानमा पर्ने बजारक्षेत्रको जग्गाको कारोबार २०७३ जेठ १९ गतेबाट रोक्का राखिएको छ । जसका कारण नागरिकहरुले आफ्नो सम्पत्तिको आफूखुशी भाेगलन पनि गर्न पाएका छैनन् ।

कि जग्गाको मुआब्जा तोक्ने कि कारोबार फुक्का गरिदिनुपर्ने कांग्रेसकाे भनाइ छ  । साथै कालोसूचीमा परेको कम्पनीलाई बूढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना बनाउन दिन नहुने भन्दै कांग्रेस सचिव न्यौपानेले आयोजना स्वदेशी लगानीमै बनाउनु पर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया