प्रदेश २ सरकारको नीति तथा कार्यक्रम : गुल्ली डन्डा खेलदेखि रासन कार्ड बाँड्नेसम्म

 जेठ २०, २०७६ सोमबार ६:५८:५२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले गुल्ली डन्डा खेलदेखि पिछडिएका वर्गलाई रासन कार्ड वितरण गर्नेसम्मको नीति तथा कार्यक्रम ल्याएको छ ।

आईतबार प्रदेशसभामा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गर्नुभएको प्रदेश २ सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा यस्ताे व्यवस्था उल्लेख गरिएकाे हाे । अधिकांश गएकाे वर्षकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिइए पनि केही लोकप्रिय नारासहितको नीति कार्यक्रम यस वर्ष समावेश गरिएकाे छ ।  

दलित वर्गभित्र आर्थिक एवं समाजिक रुपले सबैभन्दा पछाडि परेका जातजातीलाई मूलधारमा ल्याउन रासन कार्डको व्यवस्था गर्ने, ५ लाख रुपैयाँसम्मको स्वास्थ्य विमा गरिदिने तथा उच्च शिक्षा अध्ययनमा त्यस समुदायका विद्यार्थीलाई बस्ने तथा खानेको व्यवस्था गर्ने लगायतका व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएकाे छ ।  

त्यस्तै कृषि क्षेत्रको समग्र विकासको लागि प्रदेश कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने, उत्पादित अन्नबाली खरिद गर्नका लागि विभिन्न जिल्लाहरुमा कृषि मण्डलीको स्थापना गर्ने, अन्नबाली, फलफूल, तकारकारी बाली, पशुपंक्षी तथा माछापालनमा विमाको व्यवस्था गर्ने लगायतको कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । त्यति मात्र होइन किसानहरुको प्रोत्साहनको निम्ति वर्षको एक दिन धान तथा ओरहा दिवस मनाउने समेत नीति ल्याएको छ ।

उद्योग क्षेत्रलाई गएकाे वर्ष झै सरकारले प्राथमिकतमा राखेकाे छ । प्रदेशभित्र रहेका कलकारखाना जस्तै विरगंजको बन्द अवस्थामा रहेकाे सरकारी चिनी उद्योग, कृषि औजार लिमिटेड लगायतको बन्द उद्योग तथा कलकारखाना पुनः संचालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेशभित्रको छोटी भन्सार प्रदेश सरकार मातहत ल्याउन संघीय सरकारसँग पहल गर्ने पनि उल्लेख छ ।

युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न एवं स्थानीय स्तरमै साना तथा मझौला उद्योगहरु संचालन गरी रोजगारीको वातावरण बनाउन प्रदेश सरकारले मापदण्ड बनाइ निःशुल्क प्राविधिक तालिम उपलब्ध गराउने र व्यवसायतर्फ उन्मुख गर्न बैंकबाट २५ प्रतिशत अनुदानको व्यवस्था, २५ प्रतिशत आफैँ लगानी गराउने र बैंकबाट ५० प्रतिशत सहुलित दरमा ऋणको व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ । 

यस्तै राष्ट्रिय स्तरका खेलहरु र परम्परागत खेल कुस्ती, कवड्डी, टिका ठाडी, गुल्ली डन्डा, हुरा, लुकाछिपी, आसपास जस्ता खेलहरुको अनुसन्धान गरी संरक्षण सम्वर्द्धन एवं विकास गर्ने कुरा समेत नीति तथा कार्यक्रममा छ ।

नीति तथा कार्यक्रममा प्रदेशलाई सबल बनाउन कृषि, शिक्षा, स्वास्थ्य, सडक, उद्योग, वन, पर्यटन एवं भौतिक पूर्वाधार लगायतलाई समेटिएको छ ।

प्रदेश २ सरकारको २०७६/०७७ को नीति तथा कार्यक्रम पूर्ण पाठ :

अन्तिम अपडेट: चैत १६, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया