कृषि विश्वविद्यालयको १० नयाँ अनुसन्धान : बत्तीको पासोदेखि झिँगा नियन्त्रणसम्म

 जेठ २२, २०७६ बुधबार १६:२३:२७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालयले १० वटा नयाँ प्रविधिको विकास गरेको छ । कृषि, मत्स्य, पशुपालनलगायतका क्षेत्रमा निरन्तर अनुसन्धान गर्दै आएको विश्वविद्यालयले प्रविधि विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रुपमा यसलाई लिएको छ । 

गएको ६ वर्ष अगाडिदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयले अनुसन्धान तथा प्रचार प्रसारको क्रममा आवश्यक बजेट, पूर्वाधारको अभावमा पनि उपलब्धिमूलक काम गरिरहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयका प्रमुख प्राध्यापक डा. नवराज देवकोटाले बताउनुभयो । 

माछा पालन

‘नाइल टिलापिया’ जातको माछालाई व्यवसायिक रुपमा पालन गर्ने प्रविधिको विकास गरिएको छ । यो माछाको पालन पद्धति विकास, प्रजनन विधिका उपयुक्त र आहार व्यवस्थापनका विषयमा सफलतापूर्वक परीक्षण सम्पन्न भएको डाक्टर देवकोटाले बताउनुभयो ।

तराई क्षेत्रको हावापानीमा हुर्कन बढ्न र उत्पादन गर्नसक्ने, सर्वहारा जातको भएका कारण पोखरीमा भएका विभिन्न प्रकृतिका आहारा र तयारी दाना खान सक्ने ‘नाइल टिलापिया’ जातको माछा तीव्र प्रजनन शक्ति भएको पोखरीमै प्राकृतिक रुपमै प्रजनन गर्ने जातको माछा हो । 

त्यसैले वर्षमा झण्डै ६ पटकसम्म प्रजनन गर्ने क्षमता भएको यो जातको माछा भाले र पोथीलाई एउटै पोखरीमा पाल्दा संख्या धेरै तर वृद्धि राम्रो हुन नसक्ने तथ्य पत्ता लागेको छ । यसलाई सुधार गर्ने विषयमा अध्ययन र अनुसन्धानपछि सफल भइएको डाक्टर देवकोटाले बताउनुभयो । 

पशु आहार व्यवस्थापन

मकैसँग झाङ्गिन सक्ने बोडीको मिश्रित खेती तथा कच्चा प्रोटिनको आपूर्तिका लागि सहयोगी हुने गरी अनुसन्धान गरिएको छ । घाँसेबाली तथा लहरे कोसेबालीको मिश्रित खोतीले घाँस उत्पादनमा मात्र नभएर माटोको उर्वराशक्तिसमेत बढाउन सक्ने अनुसन्धानपछि देखिएको डाक्टर देवकोटाले भन्नुभयो । मकैबालीमा बोडी मिसाएर खेती गर्ने प्रचलन तराइ र मधेशमा पुरानो चलन हो । 

भैँसीमा बेमौसमी प्रजनन

भैँसी उत्पादनमा देखिएको समस्यालाई समाधन गर्न लगातार १० वर्षको अनुसन्धानपछि बेमौसमी समयमा भैँसीलाई गर्भिणी बनाउने प्रविधिको विकास भएको छ । पुसदेखि जेठ महिनासम्म बेमौसमी बाँझोपन हुने समस्या थियो ।

भैँसीको व्यवस्थापकीय हेरचाह, पोषण, वातावरणीय प्रभाव, तनाथ व्यवस्थापन, प्रजननलगायतका विषयमा गहिरो अध्ययन, अनुसन्धानपछि उत्साहजनक सफलता मिलेको बताउँदै डाक्टर देवकोटाले यो प्रविधिलाई विशिष्टीकरण गरी प्रचार–प्रसार गर्न कृषक तहसम्म लैजानका लागि विश्वविद्यालय  लागिपरेको जानकारी दिनुभयो ।  

धान उत्पादनमा पोषण

नेपालमा सिफारिस गरिएका मलखादको मात्रा, स्थान विशेषको उत्पादन क्षमता र माटोको वर्तमान र परिवर्तित उर्वराशक्तिसँग सम्बन्धित नभई अहिलेसम्म सबै क्षेत्रमा एकै र सामान्य खालको रहेको छ ।

धानमा उपयुक्त पोषक तत्वको व्यवस्थापन गर्न सके उत्पादन र उत्पादकत्व बढ्ने गरी अनुसन्धान भएको डाक्टर देवकोटाले बताउनुभयो । डाक्टर सुर्वणकुमार शाहको समूहले गरेको अनुसन्धानबाट विकास भएको प्रविधिलाई कृषकको तहमा लैजान प्रचारप्रसारको तयारी भैरहेको छ । 

सुन्तला उत्पादनमा वृद्धि

नेपालमा सुन्तला खेतीको विस्तार भए पनि उत्पादकत्व, कम गुणस्तर, बालीपछि हुने अत्याधिक क्षतिको समस्या रहेको छ । सुन्तलाको बोट टुप्पोबाट सुक्दै जाने, बाली टिपाइपछिको व्यवस्थापन नहुँदा फलको गुणस्तरमा कमी हुने गरेको छ । 

यसको समस्याको समाधानका लागि सन् २००२ देखि सन् २००५ सम्म बिरुवालाई चाहिने खाद्य पदार्थको विषयमा अनुसन्धान भएको जानकारी दिँदै डाक्टर देवकोटाले सुन्तला खेतीको अन्य पक्षका विषयमा पनि थप अनुसन्धान आवश्यक महसुस भएपछि सन् २०१३ देखि २०१५ सम्म अनुसन्धान गरेको बताउनुभयो ।

अनुसन्धानपछिको प्रविधिले सुन्तलामा उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । यसको प्रचारप्रसार र कृषकको तहसम्म प्रविधि लैजानका लागि विश्वविद्यालयले काम गरिरकेको छ । 

गर्मी मौसममा गोलभेडा खेती

कृषि र वन विज्ञान विश्वविद्यालय बागबानी संकाय रामपुरमा गर्मी मौसममा गोलभेडा खेती गर्ने प्रविधि विकास गर्न निरन्तर सोधकार्य हुँदै आएको छ । तराइ, मधेस र तल्लो पहाडमा असोज कात्तिकमा बेर्ना सारेर टमाटर खेती हुँदै आएको छ ।

तर, यो मौसममा खेती गर्नुको साटो माघ र फागुनमा बेर्ना सारेर गोलभेडा खेती गर्दा लागभग चार महिनाको समय बचत हुने र त्यस समयमा अन्य बाली लगाई थप आयआर्जन गर्नुका अलवा जमिनको सदुपयोग हुन गाई बाली सघनीकरण गर्नसमेत मद्दत पुग्ने देखिएको छ । 

जुनारमा लाग्ने झिँगा नियन्त्रण

जुनार, कागती, निबुबा, सुन्तला जातका फलफूलमा विदेशी किरा ‘चाइनिज सिट्रस फ्लाई’ को समस्या छ । सिन्धुली र रामेछापका जुनारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । त्यसैले यसको नियन्त्रण गर्नका लागि अनुसन्धान भएको छ ।

विश्वविद्यालयमा नेपालको कीट विज्ञान संकायमा कीट विज्ञान विषयमा विद्यावारिधिको उच्च अध्ययनको क्रममा सुन्तला जातको फलफूल खेतीमा फल कुहाउने झिँगा ‘चाइनिज सिट्रस फ्लाई’ को कीट परिस्थिति र यसको व्यवस्थापनलाई समेटेर अनुसन्धान भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

बत्तीको पासो 

खोतीबालीमा लाग्ने विभिन्न खालका हानिकारक कीराहरुले गर्दा कृषि उत्पादनमा कमी हुने गरेको छ । त्यस्ता किराको नियन्त्रण गर्नका लागि बत्तीको पासो प्रविधिको पनि विकास भएको छ ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा कार्यरत घनश्याम भण्डारीले आफ्नो विद्यावारिधि अध्ययनको क्रममा एक अन्तराष्ट्रिय स्तरको बत्तीको पासो विकास गर्नुभएको हो । २ वर्षको अध्ययनमा अन्य बत्तीको तुलनामा यो प्रभावकारी देखिएको छ । अहिले २० स्थानमा यो बत्तीको पासो राखेर किराहरुको गतिविधि बारे अध्ययन भैरहेको छ । 

घाँसको बीउ उत्पादन

नेपालमा ‘बर्सिम’ घाँसको बीउ उत्पादन उत्पादकत्व गुणस्तर खस्कँदै गएकोले नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको क्षेत्रीय अनुसन्धान केन्द्र खजुरा बाँकेमा ‘बर्सिम’ को बीउ उत्पादकत्व र गुणस्तर वृद्धिका लागि उपयुक्त बीउ छर्ने समय, सिचाइँ व्यवस्थापन र स्प्रेको बारेमा अध्ययन गरिएको छ । अनुसन्धानपछिको प्रविधिले ‘बर्सिम’ घाँसको बीउ उत्पादनमा उल्लेख्य वृद्धि भएको डाक्टर देवकोटाले बताउनुभयो । 

बेमौसममा काउली खेती

छोटो अवधिमा उत्पादन गर्न सकिने पछौटे काउलीको जातका विषयमा पनि नयाँ प्रविधिको विकास भएको छ । काउलीका फूल निस्कन र बढ्नका लागि अगौटे जातका लागि २० देखि २५ डिग्री र पछौटे जातका काउलीका लागि १० देखि १६ डिग्री तापक्रम आवश्यक पर्दछ ।

पछौटे जातका काउली खेती गर्दा बाह्य तापक्रम धेरै हुने भएकाले उत्पादनमा कमी हुने गरेको छ । त्यसैको समाधानका लागि सहयोग पुग्ने गरी बागबानी संकायका उप–प्राध्यापक होमनाथ गिरीले आफ्नो विद्यावारिधि गर्ने क्रममा यो विषयमा अनुसन्धान गर्नुभएको हो । 
 

अन्तिम अपडेट: भदौ २१, २०७६

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया