भारत, चीन र रुसमा स्वच्छ हावा र सफा पानी पनि पाइँदैन : अमेरिकी राष्ट्रपति ट्रम्प

 जेठ २३, २०७६ बिहिबार १६:३०:४७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत भ्रमणको अन्तिम दिन जलवायु परिवर्तनको मुद्दालाई लिएर भारत, चीन र रुसको आलोचना गरेका छन् । 

राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको सबै आरोप भारत, चीन र रुसमाथि लगाएका छन् । साथै उनले अमेरिका विश्वकै सबैभन्दा स्वच्छ देशमध्ये एक हो भनेका छन् । ट्रम्पले यी देशमा राम्रो हावा र सफा पानीसम्म नभएको बताएका छन् । 

‘विश्वको पर्यावरणलाई लिएर भारत, रुस र चीनजस्ता देशले आफ्नो जिम्मेवारी निभाएका छैनन् । यी देशहरुलाई प्रदूषण र सरसफाइको कुनै ख्याल नै छैन’, राष्ट्रपति ट्रम्पले भने । बेलायतको सञ्चारमाध्यम आईटीभीलाई दिएको अन्तर्वार्तामा उनले यो कुरा बताएका हुन् । 

राष्ट्रपति ट्रम्पले भने, ‘भारत लगायत केही देशमा राम्रो हावापानी छैन । तपाईं केही शहरमा जानुस्... तर म नाम लिन चाहन्नँ । त्यस्ता शहरमा जाँदा तपाईंँ सास पनि फेर्न सक्नुहुन्न ।’ सबै आँकडा देख्दा अमेरिका सबैभन्दा स्वच्छ जलवायु भएको देशमध्ये एक भएको उनले बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले जलवायु परिवर्तनको मुद्दामा पनि कुराकानी गरेका थिए । यद्दपि बेलायतमा अमेरिकाको गर्भपात कानुन र जलवायु परिवर्तनलाई लिएर ट्रम्पको विरोधमा कैंयौ स्थानमा प्रदर्शन भएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया