चम्पादेवीमा भेटियो बेवारिशे शव: हत्याको आशंका

 जेठ २४, २०७६ शुक्रबार १६:२६:१८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – चम्पादेवी गाउँपालिका–२ काे ओदेखोलामा एक जनाको शव फेला परेको छ ।

शव भिरमुनीको खोल्सामा फेला परेको हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरिएको छ । फेला परेकाे शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्धबहादुर थापाको भएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ ।

थापाको बुधबार राति भिरबाट लडेर मृत्यु भएको बताइए पनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले बताउनुभयो ।

थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा भेटिएका छन् । उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । भिरबाट दुवै जना लडेको भनिए पनि एउटाको मृत्यु हुनु र अर्काे सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयको दावी छ । मृतक रुद्धबहादुर थापा र घाइते दिपक बुढाथोकी नाताले मामा भान्जा हुन् ।

रातको समयमा नदी किनारबाट टर्च बालेर केही मानिसहरुले लखेटेपछि भाग्ने क्रममा चम्पादेवी–२काे ओदेखोला भिरबाट दुवैजना लडेको घाइते दीपक बुढाथोकीले बताउनुभयो । दुवै जना भिरबाट लडेकोमा मामाको मृत्यु भएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष नवराज केसीले घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो नदेखिएकाले घटना सुनियोजित रहेको दावी गर्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया