कोरियन भाषा परीक्षामा सहभागी हुँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

 जेठ २४, २०७६ शुक्रबार १८:५५:३५ | सन्जिता देवकोटा

काठमाण्डौ – भोलि शनिबारदेखि दशौं कोरियन भाषा परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार हुने परीक्षाका लागि काठमाण्डौमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ । 

परीक्षाको सबै तयारी पूरा भएको ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुभयो ।

परीक्षा दुई सिफ्टमा सञ्चालन हुँदैछ । दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए । 

परीक्षा बिहान १० देखि १० : ५० सम्म र दिउँसो १ : ३० देखि २ : २० बजेसम्म सञ्चालन हुनेछ । 

दुई घण्टाअघि नै परीक्षा केन्द्रमा पुग्न आग्रह

गएको वर्षहरुमा एक मिनेट ढिलो गरी परीक्षा केन्द्रमा पुगेकै कारणले धेरैले परीक्षा दिन नपाएको भन्दै परीक्षा सुरु हुनुभन्दा दुई घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले आग्रह गर्नुभयो ।

‘परीक्षा केन्द्रमा एक मिनेट ढिलो पुग्ने परीक्षार्थीलाई पनि हामी परीक्षामा सहभागी गराउदैनौं, त्यसैले समयमै केन्द्रमा आउन म सबै परीक्षार्थाीलाई सुझाव दिन्छु,’ उहाँले भन्नुभयो । 

साथै, परीक्षा केन्द्रमा प्रवेश गरेपछि परीक्षा नसकिंदासम्म शौचालय जानसमेत नमिल्ने पनि उहाँले बताउनुभयो । परीक्षा केन्द्रमा मोबाइल, स्मार्ट वाच लगायतका अरु विद्युतीय उपकरण लैजान मिल्दैन । लगेमा परीक्षा रद्द गरिने पनि सूचना अधिकारी भण्डारीले बताउनुभयो । 

परीक्षा दिन जाँदा अनिवार्य रुपमा पासपोर्ट, इमेलबाट प्राप्त प्रवेशपत्र अनिवार्य लैजानुपर्ने हुन्छ । केन्द्रमा प्रवेश गर्नुअघि नै सुरक्षा निकायले नै यी कुरा जाँच गर्ने र फरक परेमा कानुनअनुसार कारबाही हुने साथै ३ वर्षसम्म लगातार कोरियन भाषा परीक्षा दिन नपाउने भण्डारीले बताउनुभयो । 

गएको वर्षझैं परीक्षार्थीलाई एउटा मात्र उत्तर पुस्तिका उपलब्ध गराइने छ । उत्तर पुस्तिकामा आफ्नो नाम र सिम्बोल नम्बर फरक परेमा वा बिग्रिएमा तत्काल निरीक्षकलाई जानकारी गराई सच्याउन पर्ने हुन्छ ।

उत्तर पुस्तिकामा चिन्ह लगाउँदा कालो बलपेनको प्रयोग गर्नुपर्छ । सिसाकलम या अन्य रंगका बलपेन प्रयोग गरेमा परीक्षा रद्द हुनेछ । उत्तर पुस्तिकामा टिपेक्स लगाएर सच्याएमा पनि परीक्षा रद्द हुने शाखाले स्पष्ट पारेको छ ।

पहिलेकोभन्दा फरक

अघिल्ला वर्षजस्तो यसपालि लिखित परीक्षा पास हुँदैमा कोरियाको रोजगारीका लागि आवेदन दिन योग्य नहुने शाखाले स्पष्ट पारेको छ । यो वर्षदेखि सीप परीक्षणको परीक्षा पनि हुने शाखाका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । 

‘यो वर्षदेखि सीप परीक्षामा उत्तीर्ण भएकाले मात्र रोजगार आवेदन दिन पाउनेछन्, पहिलेजस्तो लिखित परीक्षा पास गर्दैमा कोरियाको रोजगारीका लागि योग्य भइने छैन,’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ।

पहिले ५० वटा प्रश्नको जवाफ दिनुपथ्र्यो भने यो वर्ष ४० वटा प्रश्न मात्र सोधिने शाखाले जनाएको छ । जम्मा दुई सय पूर्णाङ्कको परीक्षा हुने छ । त्यसमा कृषितर्फ ९० पूर्णाङ्कको र उत्पादनमुलक क्षेत्रतर्फ १०० पूर्णाङ्कको परीक्षा शनिबार र आइतबार हुनेछ । यो परीक्षामा उत्तीर्ण परीक्षार्थीले मात्रै सीप परीक्षणको परीक्षा दिन पाउने छन् । 

परीक्षामा पास हुँदैमा कोरिया जान पाईंदैन

यस वर्ष कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट हुनेछन् । त्यसमध्येबाट सीप परीक्षणमा कति छनोट गर्ने भन्नेबारे चाहिँ टुंगो लाग्न बाँकी रहेको  शाखाका सूचना अधिकारी भण्डारीले बताउनुभयो । 

आउँदो असार १३ गते नतिजा प्रकाशन गर्ने र त्यही बेला नै दोस्रो चरणको सीप परीक्षणको परीक्षा कहाँ र कसरी हुने भन्ने जानकारी दिइने उहाँले जानकारी दिनुभयो । १० हजार ५० परीक्षार्थी उत्तीर्ण गराउने संख्या भएकाले कोरियन भाषा परीक्षामा पास हुँदैमा जान पाइन्छ भन्ने निश्चित नहुने उहाँको भनाइ छ । 

भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् । परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेण्टी भयो भनेर ढुक्क नहुन सूचना अधिकारी भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । 

‘कोरियाले नेपालबाट यति कामदार लाने भनेर तोकेको हुँदैन, १० हजार ५० त पास गराउने नम्बर मात्र हो, रोजगारदाताको आवश्यकताको आधारमा उत्तीर्ण परीक्षार्थीलाई छनोट गरेर लैजाने गर्छन्,’ सूचना अधिकारी भण्डारीले भन्नुभयो । 

३२ केन्द्र कुन कुन ?

काठमाण्डौमा बाग्मती बोर्डिङ स्कुल सुकेधारा, द न्यू समिट स्कुल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन ललितपुर, लिटिल एन्जेल्स स्कुल हात्तिवन, एल.आर.आई स्कूल स्यूचाटार, एन.के.सिंह मेमोरियल ई.पी.एस. स्कूल मिनभवन, भी.एस.निकेतन स्कुल, ल्याब्रोटरी उच्च मा.वि., कीर्तिपुर, नाईटिङ्गल ईन्टरनेसनल सेकेन्डरी स्कुल, मुनलाईट (मोलिस) उच्च मा.वि कुमारीपाटी, लोयल्टी एकेडमी, मण्डिखाटार, र काठमाण्डौ मोडल कलेज बालकुमारी तोकिएको छ । 

त्यस्तै गोल्डनगेट ईन्टरनेसनल कलेज, गोल्डनगेट ईन्टरनेसनल सेकेन्डरी स्कुल, हिमालय कलेज, हिमालयन ह्वाईट हाउस ईन्टरनेशनल, लिटिल एन्जेल्स कलेज हात्तिवन, नोबल एकेडेमी, पिनाकल एकेडेमी लगनखेल, टाईम्स ईन्टरनेसनल कलेज डिल्लीबजार, ट्रिनिटी ईन्टरनेसनल कलेज, युनिभर्सल कलेज, भी.एस.निकेतन कलेज तीनकुने, जेभियर ईन्टरनेशनल कलेज, जेभियर ईन्टरनेशनल स्कुल, रेडन कलेज सामाखुशी, किस्ट कलेज कमलपोखरी र साउथ वोस्टर्न स्टेट कलेज तोकिएको छ । 

पोखरामा पोखरा पब्लिक स्कुल चौथे, स्टेप बाई स्टेप स्कुल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कुल मिलचौर र सृजना सेकेण्डरी स्कुल सिर्जनाचौक गरी चार वटा परीक्षा केन्द्र तोकिएको छ ।

कुन क्षेत्रमा कति आवेदक ?

ईपीएस कोरिया शाखाका अनुसार यस वर्ष उत्पादनमुलक क्षेत्रको लागि सबैभन्दा बढी ६३ हजार ४ सय ८९ जनाले आवेदन दिएका छन् । जसमा पुरुषको संख्या ७५ हजार ९ सय ५४ जना तथा महिलाको संख्या ५ हजार ५ सय २२ जना रहेको छ ।

एसेम्बलका लागि ३७ हजार ६ सय ६९ आवेदक रहेकोमा महिला परीक्षार्थीको संख्या २ हजार ५ सय ९ तथा पुरुष परीक्षार्थीको संख्या ३५ हजार १ सय ५१ रहेको छ ।

त्यसैगरी, काठको कामका लागि १२ हजार ९ सय २२ जना परीक्षार्थीले आवेदन दिनएका छन् । यसमा पुरुष परीक्षार्थीको संख्या १० हजार ४ सय ५२ जना र महिला परीक्षार्थीको संख्या २ हजार ४ सय ६९ जना रहेको छ ।

कृषि क्षेत्रका लागि परीक्षा दिनेको संख्या २८ हजार ८ सय ८७ जना रहेको छ । जसमध्येमा पुरुष परीक्षार्थीको संख्या १९ हजार ४ सय ७ तथा महिला परीक्षार्थीको संख्या ९ हजार ४ सय ७३ जना रहेको छ । कृषिमा पनि कृषिका लागि मात्रै १४ हजार २ सय २३ जना परीक्षार्थी छन् ।

यसमध्ये महिला परीक्षार्थीको संख्या ७ हजार ६ सय ३८ जना रहेको छ भने पुरुष परीक्षार्थीको संख्या ६ हजार ५ सय ८३ रहेको छ । यसैगरी, पशुपन्छी कामका लागि १४ हजार ६ सय ६४ ले आवेदन दिएका छन् । यसमा महिला १ हजार ८ सय ३५ र पुरुष १२ हजार ८ सय २४ रहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया